
नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले गत असोजको बाढी पहिरोको विध्वंसपछि ४ महिनासम्म सरकारले चरम बेवास्ता गरेको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै राणाले चार महिनामा बाटोको माटोसमेत हटाउन नसकेको टिप्पणी गरे ।
‘असोज ११ र १२ गते ललितपुरसहित छिमेकी जिल्लामा परेको अविरल वर्षाले ठूलो क्षति पुर्याएको थियो । तत्काल स्थानीय तहको सहयोगमा राहत उद्धार भयो । केन्द्रले पनि केही पहल गर्यो’, सांसद राणाले भने, ‘तर, चार महिना बढी भयो यो बीचमा पुनर्निर्माण, पुनर्वास र बस्ती निर्माणमा काम नै अगाडि बढेन । जनताले दुःख पाए । चार महिनामा बाटोको माटो पनि सफा भएन ।’
चाँडो बजेट पठाएर पुनर्निर्माणको काम गर्न सांसद राणाले सरकारको ध्यानाकर्षण गराए ।