
नेपाल विद्युत प्राधिकरणका विवादित प्रबन्ध निर्देशक कुलमान घिसिङ बैठकमै हातपातमा उत्रिएका छन् ।
बुधवार साँझ साढे ५ बजे बसेको माथिल्लो तामाकोशी सञ्चालक समिति बैठकमा कुलमानले 'तँ तँ र म म' गर्दै सदस्यमाथि हातपात गरेका हुन्छ ।
काठमाडौंको ज्ञानेश्वरस्थित माथिल्लो तामाकोशीको मुख्य कार्यालयमा कुलमानले सञ्चालक दीपक कार्कीमाथि पानीले भरिएको गिलास प्रहार गरेका थिए ।
कार्कीलाई त्यो गिलासले लाग्न भने पाएन । बरु, गिलासमा रहेको पानीले कार्कीसँग रहेका कागजातहरू भिजे ।
'तिमीहरूले बोकेको कागज केही काम लाग्दैन, भिज्यो ठीकै भयो,' गिलास प्रहारपछि सबैका अगाडि कुलमानले आक्रोश पोखे ।
कुलमान त्यहाँ उपस्थित सञ्चालक समितिका सदस्यहरूले 'सूचना चुहाएर' आफ्नो बदनाम गरेको भन्दै अपमानजनक ढंगले बोलेका थिए । बोल्ने क्रममा सदस्यहरूलाई 'तँ' भनेर सम्बोधन गरे ।
त्यसपछि कार्कीसहित सञ्चालक समितिका अन्य सदस्यले विद्युत प्राधिकरणका तर्फबाट प्रक्रिया नपुर्याइ नियुक्त गरिएका सदस्यहरूको कानूनी हैसियतमाथि प्रश्न उठाएका थिए ।
माथिल्लो तामाकोशीका दुई बोर्ड सदस्य रामजी भण्डारी र लोकहरि लुइँटेल अनिवार्य अवकाशमा गएपछि रिक्त भएको पदमा कुलमानले मनोमानी ढंगबाट निमित्त उप–प्रबन्धनिर्देशक मोतिलाल महतारा र राजनऋषि कँडेललाई नियुक्त गरेको बताएका थिए ।
'बोर्ड सदस्य नियुक्त गर्दा पनि बोर्डमै छलफल गर्नुपर्ने होला नि एमडी ज्यू,' बैठक शुरू हुनेबित्तिकै एक सदस्यले भने ।
कुलमानले आफूले नियुक्त गरेका २ सदस्यबारे बोर्डमा छलफल गरेका थिएनन् । उनले आफ्नो बहुमत पुर्याउन ती दुई सदस्यलाई सिधै बोर्ड बैठकमा बोलाएका थिए ।
त्यसपछि कुलमान जंगिन थाले– 'यो सरकार र बोर्ड उस्तै छ । दुवै मेरो बदनाम गर्न लागेका छन् ।'
कुलमानले प्रयोग गरेको भाषाप्रति आपत्ति जनाउँदै सञ्चालक समितिका सदस्यहरू एक आपसमा मुखामुख गर्न लागे ।
उनको रवैयाबाट आजित भएका अर्का सदस्यले माथिल्लो तामाकोशीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मोहनप्रसाद गौतम कुलमानको मनोमानीमा चुप बसेको भन्दै आलोचना गरे ।
'उहाँ मोहनजी यस्तो मनोमानी हुँदा पनि चुप बस्नुभएको छ । कुलमानको डमी बन्नुभएको छ । यहाँ जे पायो, त्यही भइरहेको छ,' उनको भनाइ उद्धृत गर्दै एक सदस्यले लोकान्तरसँग भने ।
त्यसपछि कुलमान जंगिए । उनले पानीको गिलास प्रहार गरे । गिलासले मान्छेलाई नलागे पनि त्यसको पानीले त्यहाँका कागजपत्रहरू भिजे ।
यसबारे कार्कीले लोकान्तरसँग भने, 'प्राधिकरणका तर्फबाट आएका सञ्चालक सदस्यहरू वैकल्पिक हो भने ठीकै छ, पूर्ण सदस्य हो भने त नियुक्तिको एजेन्डामा पनि कुरा गर्नुपर्ने होला नि भनेर हामीले कुरा राखेका थियौं, त्यसपछि उहाँ 'तँ तँ र म म' गर्दै हातपातमा उत्रिन थाल्नुभयो ।'
उनले नियुक्तिको रीत नपुर्याइकन कुनै निर्णयमा कसरी हस्ताक्षर गर्न मिल्छ भनेर पनि प्रश्न गरेका थिए ।
'आज कुनै निर्णयमा उहाँहरूले हस्ताक्षर गर्नुभयो, तर भोलि नियुक्तिको रीत नमिलेको भन्दै न्यायिक निकायले फैसला गर्यो भने उहाँहरूको हस्ताक्षरको वैधता के हुन्छ भनेर हामीले सोधेका थियौं,' कार्कीले भने ।
गत माघ ८ गते पनि कुलमानले माथिल्लो तामाकोशीको बोर्ड बैठक बोलाएका थिए । त्यतिबेला सरकारले उनलाई स्पष्टीकरण सोधेको अवस्था थियो ।
'सरकारले स्पष्टीकरण सोधेको व्यक्ति एक हिसाबले अनुसन्धानको प्रक्रियामा रहेको मानिन्छ, त्यतिबेला हामी गएनौं,' बोर्डका अर्का एक सञ्चालकले लोकान्तरसँग भने ।
ऊर्जा मन्त्रालयले स्पष्टीकरण सोधेपछि जसरी पनि हटाउन खोजेको अनुमानसहित कुलमानले हतार–हतार बोर्ड बैठक बोलाएर कतिपय आर्थिक विषयमा निर्णय गराउन खोजेका थिए ।
त्यतिबेला बोर्डका अधिकांश सदस्यहरू बैठकमा गएनन् । त्यसपछि कुलमानले आफूखुशी दुई जनालाई समितिमा नियुक्त गरेर बुधवार बैठक बोलाएका हुन् ।
बैठकमा उनी हातपातमा उत्रिएपछि दुईजना सदस्यले उनलाई समातेर बैठक कक्षबाट बाहिर लगेका थिए ।
'यसअघि एमडीले बैठक भनेर बोलाउने अनि डेढ घण्टासम्म कुराउने गर्नुहुन्थ्यो, तर बुधबार साढे ५ बजे बैठक बोलाइएको थियो । उहाँ ५ बजे नै आउनुभयो,' सञ्चालक समितिका एक सदस्यले भने ।
बुधवार कुलमान झगडा गर्ने मूडसहित नै आएको ती सदस्यको दाबी छ ।
'हामीले नियुक्ति दिने, अनि हाम्रै निर्णयमा नोट अफ डिसेन्ट पनि लेख्ने अनि बैठकमा हातपात गर्ने ? अब हामीले हेलमेट नै लगाएर जानुपर्ने भयो, के थाहा, कसले कुटाइ खाने हो ?' ती सदस्यले भने ।
पछिल्लो समय कुलमानले संयम गुमाउँदै गएको एउटा पछिल्लो उदाहरण हो यो । करिब एक हप्ताअघि पनि ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यसँग उनले ठाडो भाषामा कुरा गरेका थिए ।
मन्त्रालयमा भएको भेटमा कुलमानले आफूलाई हटाएर देखाउन चुनौती दिएका थिए । 'को–कोलाई म चाहिएको छैन, हटाएर हेरे हुन्छ, म कसैलाई टेर्नेवाला छैन,' सचिव आचार्यसँग कुलमान झोक्किएका थिए ।
गत पुस २२ गते ऊर्जा मन्त्रालयले घिसिङलाई 'पदबाट किन नहटाउने' भन्दै ७ दिने स्पष्टीकरण सोधेको थियो । कार्य सम्पादन सम्झौता पूरा नगरेको, मन्त्रिपरिषद्का निर्णय अवज्ञा गरेको, डेडिकेटेड फिडरको विवादमा प्राविधिक छानबिन समितिलाई सहयोग नगरेको, सञ्चालक समितिको माइन्युटमा नोट अफ डिसेन्ट लेखेकोलगायत विषय उल्लेख गर्दै उनलाई स्पष्टीकरण सोधिएको थियो ।
स्पष्टीकरणको जवाफ दिँदै उनले सरकारले आफूलाई पदमुक्त गर्न नसक्ने दाबीसहित हटाउन चुनौती दिएका थिए । उनलाई त्यसअघि पनि २ पटक स्पष्टीकरण सोधिएको थियो ।
प्राधिकरणमा भएको अनियमिततासँग जोडेर मन्त्रालयले विवरण पनि माग गरेको थियो । तर, कुलमानले अनावश्यक कागजपत्र पठाएका थिए ।