
भारतको कटरा र श्रीनगर रेलवे स्टेसनबीच पहिलो पटक २२ डिब्बाको रेल सफलतापूर्वक गुडेको छ । सफल परीक्षणपछि कश्मीरलाई रेलमार्गमार्फत देशको बाँकी भागसँग जोड्ने भारतको २८ वर्षअघिदेखिको सपना पूरा भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
दुई साताअघि सम्पन्न यो परीक्षण यात्राले कश्मीर रेलमार्ग सञ्चालनको दिशामा नयाँ अध्याय शुरू गरेको हो ।
रेलवे अधिकारीहरूका अनुसार १८ एसी कोच, दुई लगेज डिब्बा र दुई इन्जिन सहितको यो रेल बिहान ८ बजे कटरा रेलवे स्टेशनबाट प्रस्थान गरेको थियो र चार घण्टाभित्रै श्रीनगर स्टेशनमा सफलतापूर्वक पुग्यो । यात्राका क्रममा रेलवे अधिकारीले सम्पूर्ण व्यवस्थापनको निगरानी गरिरहेका थिए ।
यो परीक्षण यात्रा उत्तर रेलवे सर्कलका रेलवे सुरक्षा आयुक्त दिनेश चन्द देशवालले कटरा-सिन्धरगर रेलमार्ग सञ्चालनका लागि स्वीकृति दिएको ६ दिनपछि गरिएको हो ।
उनले गत जनवरी ७ र ८ मा नयाँ ब्रोडगेज लाइनको विस्तृत निरीक्षण गरेपछि सात पृष्ठ लामो प्रतिवेदन रेलवे मन्त्रालयलाई बुझाएका थिए । उक्त प्रतिवेदनमा उनले मालसामान तथा यात्रु परिवहन शुरू गर्न अनुमति दिएका थिए ।
रेलवे सुरक्षा आयुक्त दिनेश चन्द देशवालले कटरा-रेयासी खण्डको पैदल निरीक्षण गरेका थिए । साथै, कटरा-बनिहाल खण्डमा उच्च गतिको परीक्षणसमेत गरिएको थियो ।
त्यसपछि उनले रेलमार्गको नियमित सञ्चालनका लागि अनुमति दिएका थिए, जसअनुसार मुख्य रेलमार्गमा अधिकतम ८५ किलोमिटर प्रतिघण्टा तथा मोड तथा क्रसिङहरूमा १५ किलोमिटर प्रतिघण्टा को गति सीमा तोकिएको छ ।
भारत सरकारले कश्मीरलाई रेलमार्गबाट बाँकी देशसँग जोड्ने उधमपुर-श्रीनगर-बारामुल्ला रेल लिंक परियोजना को कार्य १९९७ मा शुरू गरेको थियो । तर भौगोलिक, जलवायु र स्थलाकृतिक कठिनाइका कारण यो परियोजनाले पटक-पटक निर्धारित समय सीमा गुमाउँदै आएको थियो ।
कूल २७२ किलोमिटर लामो यो परियोजनामध्ये हालसम्म २०९ किलोमिटर खण्ड चरणबद्ध रूपमा सञ्चालनमा आइसकेको छ ।
११८ किलोमिटर लामो काजीकुन्ड-बारामुल्ला खण्ड गत अक्टोबर २००९ मै सञ्चालनमा आइसकेको थियो भने जुन २०१३ मा १८ किलोमिटर लामो बनिहाल-काजीकुन्ड खण्ड सञ्चालनमा आएको थियो ।
त्यस्तै जुलाई २०१४ मा २५ किलोमिटर लामो उधमपुर-कटरा खण्ड सञ्चालनमा आयो । अनि गत फेब्रुअरी २०२३ मा ४८ किलोमिटर लामो बनिहाल-संगल्दान खण्ड सञ्चालनमा आइसकेको छ ।
यस परीक्षण यात्रापछि कश्मीर रेलमार्ग सञ्चालनको अन्तिम तयारी तीव्र रूपमा भइरहेको छ । परीक्षण सफल भएपछि यात्रु सेवाका लागि नियमित रेल सञ्चालनको घोषणा हुन सक्ने अनुमान गरिएको छ ।
कटरा-सिन्धरगर रेलमार्गले भारतको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरूलाई कश्मीर उपत्यकासँग जोड्ने र व्यापार, पर्यटन र आवागमनमा क्रान्तिकारी परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।