२२ असार २०८३, सोमबार

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गरेको आरोपमा तीन जना पक्राउ

माघ २४, २०८१
काठमाडौं
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गरेको आरोपमा तीन जना पक्राउ

वैदेशिक रोजगारका लागि विभिन्न देश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्खेतको गुर्भाकोट नगरपालिका-२ घर भई काठमाडौंको तार्केश्वर नगरपालिका नेपालटार बस्ने ३६ वर्षीय रमेश कुमार डीसी, रोल्पाको गंगादेव  गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-३१ बस्ने ४१ वर्षीय जै बहादुर वली र मकवानपुरको थाहा नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ३८ वर्षीय रविन कार्की रहेका छन् । 

डीसीले सिंगापुर पठाउने भन्दै एक जनाबाट १० लाख, वलीले क्रोएसिया पठाउने भन्दै एक जनाबाट ६ लाख र कार्कीले स्लोभाकिया पठाउने भन्दै एक जनाबाट १० लाख ठगी गरेको प्रहरीले जनाएको छ । 

डीसी र वलीलाई बिहीबार र कार्कीलाई बुधबार पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, एसपी काजी कुमार आचार्यले जानकारी दिए ।

पक्राउ परेकामध्ये डीसी र वलीलाई वैदेशिक रोजगार विभाग ताहाचल तथा कार्कीलाई प्रहरी वृत्त बौद्ध पठाएको एसपी आचार्यले बताए । 

कार्कीविरुद्ध प्रहरी वृत्त बौद्धमा समेत बैंकिङ कसुर सम्बन्धी २ वटा मुद्दामा ११ लाख ५० हजार बिगो कायम गरेर जाहेरी परेकाले उनलाई त्यहाँ पठाइएको हो । 

उनीहरूले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी विदेश लैजाने भन्दै रकम असुलेका प्रहरीले जनाएको छ । 

लामो समयसम्म झुक्यानमा राखेपश्चात विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए । पीडितहरूको जाहेरीपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्