
बागमती प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरुले बाढीपीडित परिवारलाई पुनः बसोबास गर्नुपर्ने र भौतिक पूर्वाधार विकासको संरचनाका लागि प्रदेश सरकारले तत्काल बजेट विनियोजित भएअनुसार कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन् ।
प्रदेशसभा बैठकको विशेष समयमा सदस्यहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा तत्काल गर्नुपर्ने काम÷कारबाही र बजेट अपुगका बारेमा धारणा राखेका थिए । बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सदस्यहरुले आ–आफ्नो निर्वाचन क्षेत्रका लागि आत्यावश्यक योजनाहरुमा क्रमशः खानेपानी, सडक निर्माण, बाढीपहिरोबाट पीडितलाई पुनः बसोबास गर्न र विपद् आइपर्नुभन्दा अगाडि प्रदेश सरकार पूर्ण तयारीका साथ रहनुपर्ने माग गरे। उनीहरुले जनताको चाहना असीमित रहेको छ, तर प्रदेश सरकारको बजेट अत्यन्तै कम भएको हुँदा ती क्षेत्रको योजनालाई पुनः समीक्षा गरेर क्रमशः बजेट वृद्धि गर्दै लैजान सरकारलाई दृढताका साथ अघि बढ्नुपर्ने माग गरे ।