१२ साउन २०८३, मंगलबार

सिंहदरबारको ‘एक्सन रुम’बाट प्रधानमन्त्रीले गरे सातै प्रदेशका मुख्यमन्त्रीसँग साढे २ घन्टा छलफल​

माघ २५, २०८१
काठमाडौं
सिंहदरबारको ‘एक्सन रुम’बाट प्रधानमन्त्रीले गरे सातै प्रदेशका मुख्यमन्त्रीसँग साढे २ घन्टा छलफल​
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्रवाह, सुशासन, समग्र प्रगति, विद्यमान चुनौती र सङ्घीय सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका छन् ।​ 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘एक्सन रुम’बाट प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूसँग पहिलोपटक यस प्रकारको भर्चुअल संवाद गरेका हुन् ।​

करिब साढे दुई घन्टा भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले प्रदेशका मुख्यमन्त्रीहरूसँग एक्ला-एक्लै पनि छलफल गर्नुपर्ने आवश्यकता देखिएको बताएका थिए । आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी जुट्दा थप छलफल गर्दै जाने उनले बताए ।

उनले सकेसम्म प्रदेशमै पुगेर र कतिपय प्रदेशसभामा पनि पुगेर राष्ट्र निर्माणबारे केन्द्र र प्रदेशका सोचबारे विमर्श गर्ने र समस्याको पहिचान गरी कार्यान्वयनको ’एक्सन’मा जाने जानकारी दिए ।

प्रधानमन्त्री ओलीले अहिलेको सूचना र प्रविधिको जमानामा यसको उपयोग गरी जिल्ला तह र आयोजनागत रूपमा मुख्यमन्त्रीहरूले यस्ता छलफल गर्न सकिने सुझाव दिए ।

प्रधानमन्त्री ओलीले आफू पहिला प्रधानमन्त्री हुँदा सिंहदरबारस्थित कार्यालयमा एक्सन रुमबाट देशभरका निर्माणाधीन आयोजनाबारे अनुगमन र छलफल गर्न थालेको स्मरण गराउँदै यस कक्षको उपयोगलाई बढाउँदै जाने बताए ।

प्रधानमन्त्री ओलीले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)मा ४८ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण हुने अवस्था सुधार्न आफूले केही युवाहरूको सहयोगमा अनलाइन माध्यमबाट मुख्य विषयहरूमा अतिरिक्त कक्षा सञ्चालनको आरम्भ गराएको बताउँदै यसमा ५७ हजार विद्यार्थी सहभागी जानकारी गराए ।

आगामी वर्षदेखि यसै वर्षदेखि यस प्रकारको तयारी गर्न मुख्यमन्त्रीहरूलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले विकासको आधारका रुपमा शिक्षालाई लिनुपर्नेमा जोड दिए ।

उनले डिजिटल नेपालतर्फ आफूहरू अघि बढेकाले स्वास्थ्यलगायत अन्य क्षेत्रमा पनि सूचना र प्रविधिको उपयोग गरेर जनतालाई लाभ दिन सकिने बताए ।

संवादमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा र उच्चाधिकारीहरूको सहभागिता थियो ।​​

salt training

कमेन्ट गर्नुहोस्