२८ असार २०८३, आइतबार

संसद् विघटनविरुद्ध फैसला गर्दा प्रधानन्यायाधीश नबनाउने चेतावनी आएको थियो– न्यायाधीश मल्ल

माघ २५, २०८१
काठमाडौं
संसद् विघटनविरुद्ध फैसला गर्दा प्रधानन्यायाधीश नबनाउने चेतावनी आएको थियो– न्यायाधीश मल्ल

सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले प्रतिनिधि सभा विघटनविरुद्ध फैसला गर्दा आफूलाई प्रधानन्यायाधीश नबनाउने धम्की आएको बताएकी छिन् ।

संविधानको सिद्धान्तसँग आफूले कहिल्यै सम्झौता नगर्ने उनको भनाइ छ ।

हिमालयन ह्वाइट हाउस कलेजले आयोजना गरेको ‘लिटरेचर फेस्टिबल’अन्तर्गत शुक्रबार बिहान ‘न्याय–अन्याय’ शीर्षकको प्रवचनमा विद्यार्थीले सोधेको एक प्रश्नमा प्रधानले संसद् विघटन मुद्दाको फैसला गर्दा प्रधानन्यायाधीश नबनाउने चेतावनी आएको बताएकी हुन् । 

‘चुनौतीको कुरा गर्दा मलाई तत्कालीन अवस्थामा दुईवटा प्रश्न उठ्यो– अब तिमीलाई प्रधानन्यायाधीश बनाउँदैनन् नि (भनिएको थियो) ! म प्रधानन्यायाधीश बन्न न्यायाधीश बनेको होइन, न्यायाधीश बन्न न्यायाधीश बनेको हो, जुन भूमिकामा छु, त्यससँग सम्झौता गर्दिनँ भनेँ,’ प्रधानले भनिन् ।  

विद्यार्थी प्रतीक्षा न्यौपानेले ‘तपाईंले केपी ओलीद्वारा गरिएको संसद् विघटनमा फैसला गर्नुभएको थियो, त्यो समयमा के कस्तो चुनौती सामना गर्नुभयो ?’ भनेर प्रश्न सोधेकी थिइन् ।  

‘अर्को मलाई के भन्यो भन्दाखेरी, तिमीलाई आफ्नो जीवनको डर छैन ? मैले भनें– आफ्नो राष्ट्रको स्वार्थमा, संविधानको स्वार्थमा, सार्वभौमसत्तासँग सम्झौता गर्दिनँ, संविधानसँग सम्झौता गर्दिनँ । यही कारणले गर्दा मेरो जीवन दाउमा लाग्छ भने लागोस् । मलाई आफ्नो जीवनसँग डर छैन, तर संविधानको मर्मभन्दा बाहिर जाँदिनँ । त्यसैले त्यो निडरपन न्यायको अत्यन्त आवश्यक तत्व हो,’ प्रधानले भनिन् । 

२०७७ साल पुस ५ गते गरिएको प्रतिनिधि सभा विघटन असंवैधानिक भनेर सर्वोच्च अदालतले फैसला गर्दा ५ सदस्यीय संवैधानिक इजलासको एकजना न्यायाधीश प्रधान थिइन् । हाल सर्वोच्चको वरिष्ठतम् न्यायाधीश रहेकी प्रधान भावी प्रधानन्यायाधीशको दाबेदार हुन् । 

null

पहिलो विघटनविरुद्ध २०७७ फागुन १४ तथा दोस्रो विघटनविरुद्ध २०७८ असार २८ गते सर्वोच्चले फैसला गरेको थियो । बहुचर्चित मुद्दा फैसलाको ४ वर्षपछि न्यायाधीश मल्लले अप्रत्यक्ष दबाब आएको सार्वजनिक गरेकी हुन् ।

वरिष्ठतम् न्यायाधीश मल्लले न्यायालय स्वतन्त्र र निष्पक्ष रहेको बताइन् ।

‘अहिले हामीसँग एउटा डर भएको छ । न्यायाधीश सिफारिश र नियुक्ति प्रक्रियामा राजनीति हावी छ । न्यायाधीश र प्रधानन्यायाधीश सिफारिश गर्ने न्यायपरिषद् र संवैधानिक संवैधानिक परिषद् सबै राजनीतिक छ । पार्लियामेन्टमा हेयरिङको प्रक्रिया पोलिटिकल छ । न्यायपरिषद् आफैंमा पोलिटिकल छ,’ अर्का विद्यार्थीले गरेको प्रश्नमा न्यायाधीश प्रधानले भनिन्, ‘त्यो हुँदाहुँदै पनि न्यायालय स्वतन्त्र स्वच्छ छ/छैन भन्ने कुरा काम गराइबाट हेर्ने हो । गत सालको रुल अफ लको इन्डेक्समा साउथ एसियमा हामी ‘र्‍याङ्क ए’ मा पुग्यौं । दक्षिण एसियामा स्वतन्त्रतापूर्ण (फैसला) गर्न सक्ने कारणले गर्दा ।’ 

न्यायाधीश प्रधानले कानून व्यवसायबाट न्यायाधीश बनेकाहरू विगतमा राजनीतिक दलमा आबद्ध भएपनि उनीहरूको मूल्यांकन कामबाटै गर्नुपर्ने बताइन् । 

‘हरेक न्यायाधीश, जो कानून व्यवसायबाट आएका छन्, कुनै न कुनैतर्फ आबद्ध हुन्छन् होला । उसको स्वतन्त्रता र निष्पक्षता परीक्षण फैसलाबाट गर्ने हो । कोबाट सिफारिश भयो भन्दा पनि कुन सिद्धान्तमा, उसले संविधानसँग सम्झौता गरेको छ/छैन भन्ने कुरा महत्त्वपूर्ण छ,’ उनले भनिन् । 

salt training

कमेन्ट गर्नुहोस्