
‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारले दार्चुलामा स्वास्थ्य चौकी भवन बनाएको छ । नेपाली रूपैयाँ २.५३६ करोडको लागतमा निर्मित दार्चुलाको नौगाड गाउँपालिकास्थित इयरकोट स्वास्थ्य चौकी भवनको शनिबार उद्घाटन समेत भएको छ ।
गाउँपालिकाका अध्यक्ष दलजीत सिंह धामी र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंहले संयुक्त रूपमा भवनको उद्घाटन गरे । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र सामाजिक कार्यकर्ताहरूको पनि उपस्थिति थियो ।
‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारतको अनुदान स्वास्थ्य चौकी भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग गरिएको थियो । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी)को रूपमा लिइएको दूतावासले नजाएको छ । जसलाई नौगाड गाउँपालिकामार्फत कार्यान्वयन गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष धामीले नेपालका जनताको उत्थानमा भारत सरकारले गरेको निरन्तर विकास सहयोगको प्रशंसा गरे । निर्माण गरिएको पूर्वाधार दुर्गम क्षेत्रका स्थानीयहरूलाई स्वास्थ्य सेवा सुविधा प्रदान गर्न उपयोगी हुने उनको विश्वास छ ।
स्वास्थ्य सेवाको प्रवाहमा सुधार गर्न मद्दत गरी स्वास्थ्य चौकी भवनले नेपालको सुदूरपश्चिम क्षेत्रमा स्वास्थ्य क्षेत्रको समग्र विकासमा पनि योगदान पुर्याउने काउन्सिलर सिंहले विश्वास व्यक्त गरे । यस परियोजनाबाट १५ हजारभन्दा बढी मानिसहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको दूतावासका काउन्सिलर सिंहले बताए ।