
वैदेशिक रोजगारका लागि विभिन्न देश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको छ।
पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-८ घर भई ललितपुर महानगरपालिका-१ बस्ने ३५ वर्षीया प्रभा श्रेष्ठ रायमाझी, बर्दियाको राजापुर नगरपालिका-७ घर भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१० बस्ने ३४ वर्षीया सिर्जना पौडेल र खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका-४ बस्ने ३८ वर्षीय राकेशन राई रहेका छन्।
श्रेष्ठले सिंगापुर पठाउने भन्दै तीन जनाबाट सात लाख, पौडेलले क्रोएसिया पठाउने भन्दै दुई जनाबाट ६ लाख र राईले युके पठाउने भन्दै पाँच जनाबाट २७ लाख ९० हजार ठगी गरेको प्रहरीले जनाएको छ।
श्रेष्ठ र पौडेललाई आइतबार तथा राईलाई शुक्रबार पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, एसपी काजी कुमार आचार्यले जानकारी दिए।
पक्राउ परेकामध्ये राई जिल्ला प्रहरी परिसर ललितपुरबाट बैकिङ कसूर मुद्दामा बिगो ६ लाख ४० हजार,प्रहरी वृत्त कीर्तिपुर, काठमाडौंमा बैंकिङ कसूर मुद्दामा बिगो दुई लाख र वैदेशिक रोजगार विभागमा वैदेशिक ठगीमा (यूके) बिगो १९ लाख ५० भई फरार रहेको प्रहरीले जनाएको छ ।
उनीहरूले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर रकम असुली सम्पर्कविहीन बनेपछि पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए। पीडितहरूको जाहेरीपछि अनुसन्धान गरी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।