०७ साउन २०८३, बिहीबार
सरसर्ती २४ घण्टा

माओवादीमा कार्यविभाजन–राजनीतिमा पूर्वउपराष्ट्रपति, विवादास्पद ‘धर्मगुरु’को धम्की

माघ २८, २०८१
काठमाडौं
माओवादीमा कार्यविभाजन–राजनीतिमा पूर्वउपराष्ट्रपति, विवादास्पद ‘धर्मगुरु’को धम्की

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

नेकपा माओवादी केन्द्रले नेताहरुको कार्यविभाजन तोकेको छ । कार्यविभाजनअनुसार संगठन विभाग प्रमुखको जिम्मेवारी उपमहासचिव जनार्दन शर्माले पाएका छन् भने पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई समेत पार्टीको जिम्मेवारी दिइएको छ । 

उनले राजनीतिमा सक्रिय हुने चाहना राखेअनुसार विशेष जिम्मेवारी भनेर आर्थिक उत्पादन संयन्त्रको इन्चार्ज दिइएको माओवादीले आइतबार मातहतका कमिटीमा पठाएको सर्कुलरमा उल्लेख छ। कार्यविभाजनमा अध्यक्ष प्रचण्डसहितका पदाधिकारीदेखि केन्द्रीय समितिका नेताहरुसमेतको जिम्मेवारी तोकिएको छ । 
००००
विवादास्पद धर्मगुरु विजय कृष्णमूर्तिको नेतृत्वमा रहेको मानव सेवा फाउण्डेसनले पोखरामा महायज्ञ गर्न नदिन षड्यन्त्र रचिएको दाबी गरेको छ । फाउण्डेसनका संस्थापक विजय कृष्णमूर्तिले पोखरामा पत्रकार सम्मेलन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यमाथि समेत रिस पोखेका छन् । उनी पत्रकार सम्मेलनमा धम्कीपूर्ण शैलीमा प्रस्तुत भए । 
उनले धर्मका लागि आफू अधर्म गर्न तयार रहेको बताएका हुन् । 
००००
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादीको मूल नेतृत्व (प्रचण्ड) तीव्र गतिमा भ्रष्टाचार र दलालीमा लागेको आरोप लगाएका छन् । माओवादी र एमालेमा कुनै तात्विक अन्तर नरहेको उनको दाबी छ ।

आइतबारदेखि काठमाडौंमा शुरू पार्टीको महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदनमा भट्टराईले माओवादीको मूल नेतृत्व अनियमिततामा फसको आरोप  लगाएका हुन् । 

‘बलिदानीपूर्ण जनयुद्धको जगमा बनेको माकेको मूल नेतृत्व झन झन तीव्र गतिमा भ्रष्टाचार, अनियमितता र शक्तिकेन्द्रको दलाली र बर्ग उत्थानीकरणको दलदलमा फसेकाले एमाले र माओवादी केन्द्रमा तात्विक अन्तर छैन,’ राजनीतिक प्रतिवेदनमा भनिएको छ ।
००००
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएका छन् । आउँदो चैत ५ गतेसम्म सेवा अवधि रहेका उनले राजीनामा दिएका हुन् ।

गृह मन्त्रालय स्रोतका अनुसार एआईजी केसीले शुक्रबार नै राजीनामा बुझाइसकेका छन् । उनी प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत छन् ।
००००
प्रहरीमाथि आक्रमण र अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका १ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका २६ लैनचौर बस्ने २५ वर्षीय दिनेश सिग्देल र डडेलधुरा गन्यापधुरा गाउँपालिका ५ स्थायी ठेगाना भई हाल लैनचौर नै बस्ने २२ वर्षीय रमेश फुलारा रहेका छन्।
००००
प्रतिनिधिसभाबाट दुई विधेयक पारित भएका छन् । सभाको आइतबारको बैठकले ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ सर्वसम्मति र ‘विधायन विधेयक, २०८१’ बहुमतले पारित गरेको हो ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बस्नेतविरुद्ध गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
००००
खानेपानीमन्त्री प्रदीप यादव आइतबारदेखि नयाँ कार्यकक्षमा सरेका छन् । 

शनिबार बिहान खानेपानी मन्त्रालयमा विद्युत् सर्ट भई आगलागी हुँदा उनको कार्यकक्ष जलेर पूर्ण क्षति भएको थियो ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी सशस्त्र संघर्ष ‘हिंसा’ भएको दोर्होयाएका छन् । आइतवार सिंहदरवारमा बसेको प्रजातन्त्र दिवस मूल आयोजक समितिको बैठकमा ओलीले माओवादीको संघर्ष जनयुद्ध नभई हिंसा नै भएको दोर्होयाएका हुन् ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आइतबार नेप्से परिसूचक ११ दशमलव ४९ अङ्कले घटेर दुई हजार छ सय ८८ दशमलव ३१ को विन्दुमा कायम भएको हो ।
 

कमेन्ट गर्नुहोस्