
बलिउड अभिनेता सैफ अलि खान हालै एउटा गम्भीर आक्रमणमा परे । शल्यक्रियापश्चात स्वास्थ्यलाभ गरेर सैफ अहिले बान्द्रास्थित आफ्नै घरमा छन् । उनी विस्तारै काममा फर्किने योजनामा छन् ।
सैफले आफूमाथि १६ जनवरीको बिहान भएको भयानक हमलाबारे विभिन्न खुलासा गरेका छन्। हमलापछिको पहिलो अन्तर्वार्तामा उनले भनेका छन्, ‘करिना कपूर खान र मेरा छोराहरू तैमूर अलि खान तथा जेह अलि खान निकै डराएका थिए।’
हमलापछि छोराहरूले केही भावुक प्रश्नहरू सोधेका थिए । दिल्ली टाइम्सलाई दिएको अन्तर्वार्तामा सैफले बताए अनुसार उनका जेठा छोरा तैमूर यो घटनाले अति डराएका थिए। तैमूरले सैफलाई प्रश्न गरे, ‘पापा, के तपाईं मर्नुहुन्छ?’ यसमा सैफले उत्तर दिए, ‘होइन।’
त्यसपछि उनी लीलावती अस्पतालसम्म अटो रिक्सामा चढेर पुगेका थिए । सैफका अनुसार उनकी श्रीमती करिना कपूर खान निकै डराएकी थिइन्। उनले घटनापछि सहयोगका लागि मानिसहरूलाई गुहार गरिन्, तर राति कोही पनि उपलब्ध थिएनन्। त्यसपछि सैफले करिनालाई आश्वस्त पार्दै भने, ‘म ठीक छु, मलाई केही हुँदैन।’
यति मात्र होइन, सैफका कान्छा छोरा जेहले आफ्नो बाबुलाई एक प्लास्टिकको तरबार दिँदै भनेका थिए, ‘अर्को पटक चोर आए भने काम लाग्छ, यसलाई सिरानीमुनि राख्नू।’
जेह अझै पनि भन्छन्, ‘गीताले अब्बालाई बचाइन्, अनि अब्बाले मलाई बचाए।’
सैफका अनुसार करिना बेलुका डिनरका लागि बाहिर गएकी थिइन्, उनी घरमै थिए। करिनाले फर्किएर सामान्य कुराकानी गरिन् र उनीहरू सुते ।
केही समयपछि घरेलु सहयोगी दौडँदै आइन् र भनिन्, ‘कोही अज्ञात व्यक्ति घरभित्र पसेको छ।’
त्यसपछि सैफ जेहको कोठामा गए । ‘जेहको कोठामा चक्कु बोकेर एक व्यक्ति पैसाको माग गर्दै थियो’, सैफले भने ।
सैफका अनुसार हमलाकारी जेहको ओछ्यानमै बसेका थिए। ‘उसले दुवै हातमा चक्कु बोकेको थियो र मुखमा मास्क लगाएको थियो।’ सैफले प्रतिकार गर्दा ती हमलाकारीले सैफको ढाडमा चक्कु प्रहार गरे।
‘मलाई उसप्रति दया लागेको थियो, तर जब सम्झन्छु कि उसले मेरो शरीरभित्र चक्कु हानेको थियो, माफ गर्न सक्दिनँ’, सैफले भने, ‘म समाजलाई दोष दिन्नँ, प्रहरी वा मुम्बई शहरलाई पनि दोष दिन्नँ।’