०८ असार २०८३, सोमबार

डीपीआर अनियमितताको विषय सदनमा पुग्यो, छानबिन गर्न सांसदको माग

माघ २८, २०८१
विराटनगर
डीपीआर अनियमितताको विषय सदनमा पुग्यो, छानबिन गर्न सांसदको माग

कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने नाममा अनियमितता गरेको विषयले सदनमा प्रवेश पाएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा यस विषयमा सांसदले कुरा उठाउँदै छानबिनको माग गरेका छन् । 

बैठकमा माओवादीका प्रदेशसभा सदस्य समेत रहेका पूर्वमन्त्री गणेश उप्रेतीले छानबिन गर्न माग गरेका हुन् । प्रदेश संरचनाप्रति जनतामा वितृष्णा बढिरहेको बेला भइरहेका अनियमितताका घटनाप्रति सचेत बन्नुपर्ने उनको भनाइ छ ।

उनले जग्गाको पहिचान नभइ डीपीआर गर्न दिने अधिकारी, कन्सल्टेन्सी, भुक्तानी दिने अधिकारीलाई कारबाही गर्न माग गरे । ‘आर्थिक वर्षको अन्त्यमा लाखौंको डीपीआर गरियो । एउटै कम्पनीलाई दर्जनौं डीपीआर गर्न दियौं, त्यो किन भयो ?’ उनले प्रश्न गरे । 

उनले कोशी प्रदेश सरकारले करोडौं रूपैयाँ खर्च गरेर बनाएका डीपीआर कार्यान्वयनमा जानै नसक्ने र कतिपय डीपीआरको अभिलेख समेत नरहेको बताए । 

‘कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहतका १३ वटा कार्यालयहरूले आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०८०/८१ सम्ममा ७८४ वटा डीपीआर गरेका छन् । जसमध्ये ३०८ वटा कार्यान्वयनमा गएकै छैनन् । १०४ वटा डीपीआरको त रेकर्ड नै छैन,’ उनले भने । 

पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ मा मन्त्री निवास निर्माणका लागि भन्दै डीपीआर बनाएको भएपनि भवन बनाउने स्थानको अहिलेसम्म पहिचान नभएको उनले दाबी गरे । 

‘भवन बनाउने स्थान नै निश्चित थिएन । डीपीआर बनाएको पाँच वर्ष पुग्दा पनि मन्त्री निवास निर्माणको अझै टुंगो लागेको छैन । यो भ्रष्टाचार नभएर के हो ?’, उप्रेतीको प्रश्न छ । 

भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७९/८० सम्म (६ आर्थिक वर्ष)मा ३२ करोड ९६ हजार रूपैयाँ डीपीआरमा खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । 

‘डीपीआर गरिएका योजनाहरू कार्यान्वयन गर्ने हो भने झण्डै खर्ब रूपैयाँ लाग्छ । त्यो सम्भव छ ?,’ उप्रेतीले भने ।

कार्यान्वयनमा नगएका डीपीआर कार्यान्वयन गर्दा करिब ४० अर्ब लाग्ने र त्यो प्रदेश सरकारको चालु आर्थिक वर्षको कूल बजेटभन्दा ५ अर्ब बढी हुने उनले दाबी गरे । 

प्रदेशस्तरीय आयोजना छनोट तथा वर्गीकरण सम्बन्धी कार्यविधि मिचेर डीपीआर बनाइएको बताउँदै उनले कार्यविधिमा अधिकतम लागत १ अर्बसम्मको मात्रै हुनुपर्ने भनेको बताए । 

‘प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले नै ४ अर्ब ६४ करोडसम्मका योजनाको डीपीआर गरेको छ । करिब १५ लाख खर्च गरी बनाइएको धरान मूलघाट सुरुङ मार्गको डीपीआरमा ४ अर्ब ६२ करोड लागत अनुमान गरिएको छ’, उप्रेतीले भने, ‘कार्यविधिको बेवास्ता गरी २ अर्ब ५८ करोड लागतको कोशी रिफ्रेसमेन्ट सेन्टरका लागि डीपीआर बनाइयो । अहिले उक्त परियोजनामा ३३ करोड खर्च गरिसकेपछि निजी क्षेत्रलाई दिने कुरा सुनिँदैछ ।’

डीपीआर गर्ने, दराजमा थन्क्याउने र गरिएका डीपीआर पनि नभेटिने अवस्था आउनु भनेको भ्रष्टाचार भएको हुनसक्ने भन्दै उनले डीपीआर पहुँचको आधारमा बनाइएको, कर्मचारीले मिलेमतो गरेको र अनियमितता भएको पुष्टि हुने दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्