
लोकप्रिय गायिका एलिना चौहानले आफ्ना पूर्वपति विष्णु सापकोटालाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबूकमा भावुक स्ट्याटस लेखेकी छन् ।
कानूनी रूपमा आफ्नो वैवाहिक सम्बन्ध टुंगिएको घोषणा गर्दै विवाहका प्रतीकहरू (सिन्दुर, चुरा, लगनगाँठो) अझै उस्तै रहे पनि सम्बन्धको आत्मिक पक्ष भने बाँकी नरहेको उनले बताएकी छिन् ।
एलिनाले लेखेकी छन्, 'अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन् । तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन् । तर विवाह सिन्दुर, लगनगाँठो, विवाह दर्ता वा शारीरिक सम्बन्ध मात्र रहेनछ, मुख्य प्राण त आपसी विश्वास र समझदारी नै रहेछ । जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायुमै पूर्णविराम लागेको छ ।'
स्ट्याटसमा बाध्यताका कारण सम्बन्ध टुंगिएको उल्लेख गरे पनि त्यसको कारण भने खुलाइएको छैन ।
अन्त्यमा उनले पूर्वपति विष्णुलाई बाँकी जीवनका लागि शुभकामना दिँदै आफ्नो तर्फबाट पाउने सम्पत्ति पनि विष्णुकै प्रगति र उन्नतिका लागि छोडेको जनाएकी छन् ।
२०८१ वैशाख ५ गते बागलुङका विष्णुसँग विवाह गरेकी झापाकी एलिनाले यही माघ १८ गते काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् ।
विष्णु अस्ट्रेलियामा रहेर व्यवसाय गर्दै आएका छन् ।