
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोग लगायत विभिन्न संवैधानिक आयोगमा नियुक्त ५२ जना पदाधिकारीको नियुक्तिविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ शुरू भएको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित ५ जना न्यायाधीश सम्मिलित संवैधानिक इजलासमा रिटको सुनुवाइ शुरू भएको हो । संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन् ।
संवैधानिक इजलासमा पटक-पटक पेसी तोकिएर स्थगित भएको रिटमाथि चार वर्षपछि सुनुवाइ शुरू भएको हो । बुधबार इजलासमा प्रधानन्यायाधीश राउतले आजै सुनुवाइ शुरू गर्ने बताएका थिए ।
तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७७ पुसमा संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरेको थियो । संसदीय सुनुवाइ प्रक्रिया छलेर पदाधिकारी नियुक्त गरिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल लगायतले छुट्टाछुट्टै रिट दर्ता गराएका थिए ।
रिद दायर गर्नेमध्येका अधिवक्ता अर्यालले संवैधानिक इजलासमा अब नियमित सुनुवाइ हुने जानकारी दिए । संवैधानिक इजलास बुधबार र शुक्रबार बस्ने गरेको छ ।