
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले गौतम बुद्धले आफूले निर्वाण प्राप्त (मृत्यु घोषणा) गर्नुभन्दा ३ महिना अघि नै आयु संस्कार परित्याग घोषणा गरेको दिनलाई राष्ट्रिय पर्वका रूपमा मनाउन माग गरेका छन् ।
श्रीखण्ड तरुमूल महाविहार, सिखंमूबहाः वसन्तपुरले आज आयोजना गरेको ‘भगवान् बुद्धको आयुसंस्कारपरित्याग दिवस’का अवसरमा वसन्तपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो माग गरेकी हुन् ।
‘माघ पूर्णिमा (सिल्लापुन्हि) भगवान् गौतम बुद्धले आफूले निर्वाण प्राप्त (मृत्यु घोषणा) गर्नुभएको दिन हो,’ उपप्रमुख डंगोलले भनिन्, ‘गौतम बुद्ध जन्मिएको दिन भनेर बुद्ध जयन्ती मनाउँछौं । उहाँले निर्वाण (मृत्युवरण) प्राप्त गरेको र बुद्धत्व प्राप्त गरेको दिन वैशाख शुक्ल पूर्णिमा पनि धूमधामसँग मनाउने चलन छ । तर, उहाँले अब म ठिक तीन महिनापछि निर्वाण प्राप्त गर्छु भनेर घोषणा गरेको दिन आयु संस्कार परित्यागको दिनबारे धेरैलाई जानकारी नै छैन ।’
उनले त्यो दिनको महत्त्वलाई दर्साउन काठमाडौं महानगरपालिका आफ्नो ठाउँबाट सहयोग गर्न तयार रहेको पनि स्मरण गराइन् ।
‘बुद्ध धर्म मान्ने विश्वका थुप्रै देशहरूले यो दिनलाई विशेष महत्वका रूपमा लिँदै आएका छन्,’ उनले भनिन्, ‘तर, बुद्धको जन्मभूमि नेपालमा हामीले धेरैलाई यो बारे जानकारीसमेत दिन सकिरहेका छैनौं । त्यही कुराको महत्वलाई दर्साउँदै हामीले खुलारूपमा मनाउने थालनी गरेका छौं ।’
उनले यो दिनलाई राष्ट्रिय महत्त्वका रूपमा चिनाउनुपर्नेमा जोड दिइन् ।