
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाल आयल निगममा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पेस गरेका मागहरूका सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल भएको छ ।
बुधबार भएको छलफलमा आन्दोलन स्थगित गर्ने र महासंघको माग सम्बोधनका लागि ७ सदस्यीय अध्ययन कार्यदल गठन गर्ने सहमति भएको छ ।
००००
नेपाल एलपी ग्यास उद्योग संघले विभिन्न माग राखेर बिहीबारदेखि गर्ने भनिएको आन्दोलन स्थगित गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुधबार भएको छलफलपछि संघले आन्दोलन स्थगित गरेको हो ।
उद्योगमन्त्री दामोदर भण्डारीसहित नेपाल आयल निगमका सञ्चालक समिति पदाधिकारी तथा कर्मचारी र संघका पदाधिकारीबीच भएको छलफलमा संघले राखेका जायज माग सम्बोधन गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरिएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ ।
००००
सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा ९ जनालाई दोषी ठहर गरेको छ । पदमा रहँदा पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिई भ्रष्टाचार गरेको आरोपमा एमाले नेता निर्मल कुइँकेलसहित ९ जनालाई सर्वोच्चले बुधबार भ्रष्टाचारी ठहर गरेको हो ।
न्यायाधीशहरु कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको इजलासले कुइँकेललाई ६ वर्ष कैद सजाय तोकेको छ । यस्तै उनीमाथि ८३ लाख ४१ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर अदालतको छ ।
००००
विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ शुरू भएको छ ।
रिटमा बुधबार निवेदक ओमप्रकाश अर्यालले बहस गरेका छन् ।
निवेदक अर्यालका तर्फबाट वरिष्ठ अधिवक्ता डा। चन्द्रकान्त ज्ञवालीले बहस शुरू गरेका छन् । तर बहस नसकिएपछि उनले अर्को दिन बहस सकाउने छन् ।
००००
मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुट्दा काठमाडौं जिल्ला अदालतमा भल पसेको छ।
बबरमहलस्थित अदालत भवन जलमग्न भएपछि चार वटा इजलास अनिश्चितकालका लागि स्थगित गरिएको छ। नेपाल विद्युत प्राधिकरणले जथाभाबी खन्दा दुर्घटना निम्तिएको बताइएको छ ।
००००
प्रहरी प्रधान कार्यालयका अनुसार यो आर्थिक वर्षको पुससम्ममा प्रहरीमाथि ७२ वटा कुटपिट एवं हातपातका घटना भएका छन् । जसमा प्रहरी जवानदेखि प्रहरी निरीक्षक (इन्स्पेक्टर)सम्मले कुटाइ खाएका छन् ।
यो आर्थिक वर्षमा धनुषा, सुनसरी, ताप्लेजुङ, खोटाङ, संखुवासभा, उदयपुर, पाँचथर, रौतहट, सर्लाही, मकवानपुर, चितवन, धादिङ, सिन्धुली, तनहुँ, गुल्मी, बर्दिया, दाङ, पूर्वी नवलपरासी, अर्घाखाँची, पाल्पा, रोल्पा, कपिलवस्तु, डडेल्धुरा, बाजुरा, काठमाडौं, ललितपुर र भक्तपुर गरी २७ वटा जिल्लामा प्रहरीमाथि कुटपिटका घटना भएका छन् ।
००००
सरकारले एसियाली विकास बैंकको ‘एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फन्ट’ बाट ‘आकस्मिक बाढीपहिरो उद्धार योजना–२०२४’ का लागि प्राप्त हुने २० लाख अमेरिकी डलर (करिब रु २७ करोड ७३ लाख) अनुदान सहायता स्वीकार गर्ने भएको छ ।
यही माघ २८ गते बसेको मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जानकारी दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले छ सय ७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि आयोजनाको वित्तीय व्यवस्थासम्बन्धी पूर्वतयारी अगाडि बढाउन सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको बताए ।
००००
कर्णाली प्रदेश सरकारले २०८० मा जारी गरेको निजामती सेवा ऐन संशोधन गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवा ऐन २०८० लाई संशोधन गर्ने निर्णय गरेको प्रवक्ता विनोद शाहले जानकारी दिए ।
००००
मोरङको बेलबारी नगरपालिकाका अधिकृत महेन्द्र खड्काले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई पत्र लेखेको भन्दै उनको जिम्मेवारी खोसिएको छ ।
नगर प्रमुख दिलप्रसाद राई (डीपी)ले प्रशासन प्रमुख खड्कालाई कारबाही गरेका हुन् । उजुरीबारे छानबिन नै नगरी कारबाही गरेपछि उपप्रमुख नितु थापा कोइराला भने अधिकृत खड्काको पक्षमा देखिएकी छन् ।
००००
नेपाल पत्रकार महासंघले सरकारले हालै राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल विधेयकको विरोध गरेको छ ।
महासंघले विधेयकमा भएका कतिपय व्यवस्थाहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने र नागरिकका संवैधानिक हकहरूमा अंकुश लगाउने किसिमका रहेको ठहर गरेको छ ।
००००
न्याय परिषद्ले उच्च अदालत जनकपुरका न्यायाधीश भरत लम्सालको सरुवा गरेको छ । बुधबार बसेको परिषद्को बैठकले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा कार्यरत न्यायाधीश लम्सालको उच्च अदालत विराटनगर अन्तर्गत अस्थायी इजलास ओखलढुंगा सरूवा गर्ने निर्णय गरेको हो ।
००००
काठमाडौंको शंखरापुरमा भएको स्कूल बस दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ भने थप ४० जना घाइते भएका छन् ।
शंखरापुर नगरपालिका–५ कात्तिकेमा बुधबार दिउँसो भएको दुर्घटनामा घाइते भएकामध्ये ३ जनाको उपचारका क्रममा मृत्यु भएको र ४० जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
००००
अर्थ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले थान प्रसाद पंज्ञानी, शोभा कान्त पौडेल, महेश आचार्य, महेश भट्टराई र मदन दहालको जिम्मेवारी हेरफेर गरेको हो ।
यसैगरी तिर्थराज चिलुवाल, सेवन्तक पोखरेल, पार्वती अर्याल, महेश बराल , यमुना प्रधान, गोपी कृष्ण कोइराला, अमृत लम्साल, श्याम प्रसाद भण्डारी र श्रीचन्द्र साहको पनि जिम्मेवारी हेरफेर भएको मन्त्रालयले जनाएको छ ।
००००
पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरू गरेको एक महिने स्वस्थानी व्रत बुधबार विधिपूर्वक समापन गरिएको छ । माघ शुक्ल पूर्णिमाका दिन बुधबार एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिएको हो ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक एक दशमलव ८६ अङ्कले बढेर दुई हजार छ सय ८५ दशमलव ७३ को विन्दुमा कायम भएको हो ।