
काठमाडौंको शंखरापुर नगरपालिका–५ कात्तिकेमा बुधबार विद्यार्थी बोकेको बस दुर्घटनामा घाइते भएका ४३ मध्ये २७ जना उपचारपछि घर फर्किएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार नगरकोटमा ‘पिकनिक’ खाएर फर्किने क्रममा सत्यसाई एकेडेमीका विद्यार्थी चढेको बस दुर्घटनामा परेको हो ।
बस सडकबाट २० फिट तल खसेर भएको उक्त दुर्घटनामा बसमा सवार मोरङको उर्लाबारी नगरपालिका–७ घर भएका ११ वर्षीय क्रिस्चल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ बस्ने २३ वर्षीय सुरेश तामाङ र काठमाडौं बौद्ध बस्ने सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका १४ वर्षीय शुसांक डोटेलको मृत्यु भएको थियो । उनीहरू तीनै जना विद्यार्थी हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएका क्रिस्चलको शिक्षण अस्पताल महाराजगञ्जमा, सुरेशको नेपाल मेडिकल कलेजमा र शुसांकको शङ्खरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अहिले दुई जनाको केएमसी अस्पताल, नौ जनाको एनएमसी अस्पताल, एक जनाको मेडिसिटी अस्पताल, दुई जनाको शिक्षण अस्पताल महाराजगञ्जमा, एक जनाको हेल्पिङ हेण्ड अस्पताल चाबहिलमा र एक जनाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको एसपी बोहराले जानकारी दिए ।
उनका अनुसार बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।