
गोरखा ६ मंसिर–सदरमुकाम गोरखाबजार नजिकैको गाउँका स्थानीय मतदातालाई ४ दिन पछि हुँदै गरेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कति ठाउँमा भोट हाल्ने भन्ने पनि थाहा छैन् । यो गाउँमा अहिलेसम्म कोही भोट माग्न पनि आएको छैन् ।
‘अहिलेसम्म कोही पनि भोट माग्न आएको छैन्, हामीलाई त कति ठाउँमा भोट हाल्ने भन्ने पनि थाहा छैन’ हटियाथोकमा चियाँ पसल सञ्जालन गर्ने पार्वती श्रेष्ठले भनिन्, ‘भोट हालेर पनि के हुन्छ र भन्ने भयो ? गाउँमा केही विकास भएको छैन ।’ उनले आफ्नो क्षेत्रबाट चुनावमा को उठेको छ भन्ने समेत थाहा नभएको बताइन् ।
पार्वती जस्तै रिसा योगीलाई पनि कति ठाउँमा भोट हाल्ले भन्ने थाहा छैन् । ‘मलाई मात्र होइन, गाउँका कसैलाई पनि भोट हाल्ने तरिका थाहा छैन्’ उनले गुनासो गरिन । मतदाता शिक्षाको अभावमा गाउँमा प्रदेश र प्रतिनिधि सभाका लागि कति ठाउँमा मतदान गर्ने भन्नेमा मतदाता अलमलमा देखिन्छन् ।
तुम्बध्वज आले र दल बहादुर गेलाङ लगायत चारजना पुरुषहरु गाउँको चियापसलमा गफिरहेका भेटिए । ‘दश गते चुनाव हो भन्ने थाहा छ, तर अहिलेसम्म कति ठाउँमा भोट हाल्ने भनेर भन्न कोही आएको छैन,’ गेलाङले भने ।
अन्य क्षेत्रमा जस्तै यस क्षेत्रमा पनि नेताहरुले आश्वासन नदिएका होइनन् । ‘पहिला चिरञ्जीवी वाग्लेले हामीलाई खानेपानीको व्यबस्था गर्छु भनेर ढाँटे, पाप लागेर उनी जेल परे,’ स्थानीय एक महिलाले भनिन् ।
भूकम्पले थलिएको गोरखाका कयौं भूकम्प पीडितले अहिलेसम्म दोस्रो किस्ताको रकम नपाउँदा घर बनाउन सकेका छैनन् । ‘नेताहरुको कुनै विश्वास छैन, भोट माग्ने बेलामा नमस्कार गर्दै आउँछन्, चुनाव जितेपछि नमस्कार गर्दा फर्काउँदैनन्’ इच्छामाया योगीले आक्रोश पोखिन् ।
गोरखा क्षेत्र नम्बर १ मा पर्ने यो क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट चिनकाजी श्रेष्ठ तथा वामपन्थी गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नेता हरि अधिकारी उम्मेदवार छन् ।