
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको अभियानमा केन्द्रित गर्नुपर्ने बेला आएको बताएका छन् ।
बिहीबार गुल्मीको धुर्कोट गाउँपालिका बर्बोटटमा निर्मित सहिद शमशेर स्मृति पार्क उद्घाटन तथा सहिदहरूको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
जनयुद्ध र जनआन्दोलनको बलमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि मुलुकमा एक चरणको राजनीतिक क्रान्ति संस्थागत भएको उल्लेख गर्दै प्रचण्डले अब जनतालाई समृद्ध र देशलाई आत्मनिर्भर बनाउने अभियानको थालनी गर्नुपर्ने बताए ।
‘एकथरिले मुलुकमा केही भएका छैन भन्ने गरेका छन् त्यसो होइन, गणतन्त्र स्थापनापछि धेरै क्षेत्रमा सकारात्मक परिवर्तन देखिएको छ’, पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘तर, जनताको उत्पादन क्षमतामा वृद्धि नहुँदा जनताले महसुस गर्ने गरी परिवर्तनको अनुभूति गर्न सकिरहेका छैनन्, अब हामी सिंगो मुलुकलाई एकताबद्ध गरेर राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकासलाई अभियानकै रूपमा अघि बढाउनुपर्ने बेला आएको छ ।’
हजारौं युवाहरू विदेश जाने र रेमिट्यान्सबाट देश चलाउने अवस्था रहेको उल्लेख गर्दै उनले देशभित्रै रोजगारी सृष्टि गरेर विदेश जान बाध्य युवाहरूलाई पुनः स्वदेशकै फर्काउने गरी सबै तहका सरकारले योजना बनाउनुपर्ने र त्यसमा पनि मूलतः कृषि उत्पादन वृद्धिका लागि स्थानीय सरकारहरूले योजनाबद्ध पहल थाल्नुपर्ने बताए ।
‘हामी जति जतिसक्दो धेरै उत्पादन वृद्धि गरी रोजगारी तथा स्वरोजगारीका अवसर सिर्जना गर्न चाहन्छौं’– उनले भने, ‘अब हामीले राजनीतिक रूपमा पनि समाजवादउन्मुख अर्थतन्त्रको निर्माणमा जोड दिन चाहेका छौं, हिजो जसरी राजनीतिक क्रान्तिलाई अभियानकै रूपमा अघि बढाउँदा सफलता प्राप्त भयो, अब त्यसरी नै आत्मनिर्भर अर्थतन्त्रको विकासलाई अभियानकै रूपमा बढाउनुपर्ने बेला आएको छ ।’