
किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।
बिहीबार सिंहदरबारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन निर्देशन दिएका हुन् ।
उनले मल आपूर्ति छिटोछरितो र पारदर्शी बनाउन, स्वदेशमै मल उद्योग स्थापना गर्न र प्राङ्गारिक मलको प्रयोगलाई प्राथमिकता दिने नीति ल्याउन मन्त्रालयलाई निर्देशन दिए । खेतीको समयमा मलखाद उपलब्ध गराउन सरकार लागिरहेको उनले बताए ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी, मुख्यसचिव एकनारायण अर्याल, कृषि मन्त्रालयका सचिवद्वय डा. गोविन्द शर्मा र डा. राजेन्द्रप्रसाद मिश्रसमेत सहभागी बैठकमा कृषि लगानी दशक (२०८१–२०९१), राष्ट्रिय कृषि नीति र कृषि विधेयक, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, नेपाल कृषि अनुसन्धान परिषद्को पुनः संरचना, मासु निर्यातका लागि भैँसी-पाडा पालन कार्यक्रम, उखु किसानको अनुदान र सहुलियत कृषि कर्जालगायत विषयमा छलफल भएको थियो।
प्रधानमन्त्री ओलीले कृषि मन्त्रालयसँग मल र उन्नत बीउको उपलब्धताबारे ब्रिफिङ लिएको बताएका छन् ।
उनले सरकारले ५ लाख ५० हजार मेट्रिकटन मलका लागि २७ अर्ब ९५ करोड विनियोजन गरेको जानकारी दिएका छन् ।
‘२ लाख ४० हजार मेट्रिकटन मल आयात भइसकेको छ र ३० हजार मेट्रिकटन युरिया आयातको क्रममा छ । खेतीका लागि मलखाद सुनिश्चित गर्दै सरकार लागिरहेको छ’, प्रधानमन्त्री ओलीले भनेका छन् ।