
नेकपा माओवादीका केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार गुल्मीका पाँच कार्यक्रममा सहभागी भएका छन् ।
बिहीबार नै गुल्मी पुगेका प्रचण्डले त्यहाँ पाँच घण्टा बिताए । त्यसक्रममा उनले मालिका गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन, मालिका पिस पार्क, हेलिप्याड र तेस्रो मालिका रनिङ्गशिल्ड प्रतियोगिताको उद्घाटन गरे । त्यस्तै, धुर्कोट गाउँपालिकाको सहिद स्मृति पार्कको पनि प्रचण्डले उद्घाटन छन् ।
उनले कार्यक्रमहरूलाई सम्बोधन गर्दै संविधान निर्माणमा आफ्नो प्रभावकारी भूमिका रहेको स्मरण गरे । त्यसैको परिणामस्वरूप ‘गाउँ–गाउँमा सिंहदरबार’को अवस्था प्राप्त गर्न सकिएको प्रचण्डले बताए।
उनले स्थानीय तहबाट जनतालाई सेवामार्फत गाउँगाउँमा सिंहदरबारको महसुस गराउन नसके बन्ने संरचना (भवन)को कुनै अर्थ नहुने समेत टिप्पणी गरे ।
टिनको छाप्रो हुँदै आधुनिक भवनमा मालिका
२०७४ सालमा मालिका गाउँपालिका महिलाहरूको सामुदायिक भवनमा थियो । सोही भवनमा तत्कालीन गाउँपालिका प्रमुख रितबहादुर थापासहितको नेतृत्वले शपथ खाए ।
कार्यालयमा कर्मचारी र जनप्रतिनिधिको समेत राम्रोसँग व्यवस्थापन हुन सकेन । सेवाग्राही त बाहिर उभिएरै सेवा लिन बाध्य थिए ।
लामो प्रयासपछि पालिकाले आफ्नै भवन पाएको छ । अब सुविधा सम्पन्न यही भवनबाट सेवा प्रवाह हुनेछ ।
सहिदपार्कको उद्घाटन तथा शालिक अनावरण
धुर्कोट गाउँपालिकाद्वारा निर्मित सहिद स्मृति पार्कको बिहीबार नै ‘प्रचण्ड’ले उद्घाटन तथा सहिदहरूको शालिक अनावरण गरेका छन् । २०७५ सालबाट विभिन्न वर्षहरूमा बजेट व्यवस्थापन गरेर पार्कको सबै काम गरिएको थियो ।
धुर्कोट गाउँपालिकाले पालिकाभित्रका तीनजना सहिदको स्मृतिमा पालिकाको केन्द्र बर्बोटमा पार्क निर्माण गरेको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले जानकारी दिए । २०७५ सालको अन्तिमबाट निर्माण शुरू भएको पार्क हाल निर्माण सम्पन्न भइसकेको छ ।
पहिलेको सानो पाखेरी र सुक्खा डाँडोमा अहिले आकर्षक पार्क निर्माण गरिएको छ । पार्क पर्यटकीय तथा ऐतिहासिक भएकाले आन्तरिक पर्यटकको आकर्षणको रूपमा पनि रहेको छ ।
पार्कभित्र बनाइएका विभिन्न बगैँचा, फुटपाथ, पानीको फोहोरा, बाघ, धुर्कोट दरबार लगायतका वस्तुहरूको प्रतिमा, लाइटिङ लगायतका संरचनाले पार्कलाई आकर्षक बनाएको गाउँपालिका अध्यक्ष पोख्रेलले बताइ ।
पार्क निर्माणका लागि २०७६/७७ मा एक करोड, ०७७/७८ मा ४० लाख, ०७८/७९ मा २० लाख तथा ०७९/८० मा ६० लाख गरी हालसम्म दुई करोड ३० लाखभन्दा बढी रकम खर्च भएको गाउँपालिकाका सव–इन्जिनियर कृष्णबहादुर पहराईले जानकारी दिए ।