३१ जेठ २०८३, आइतबार
कांग्रेसमा गुट अदलबदल

जसले देउवाबाट पटकपटक लिए मौका, अहिले हान्न खोज्दैछन् अन्यत्र चौका !

फागुन १, २०८१
काठमाडौं
जसले देउवाबाट पटकपटक लिए मौका, अहिले हान्न खोज्दैछन् अन्यत्र चौका !

नेपाली कांग्रेसमा पटक-पटक शेरबहादुर देउवा समूहमा रहेर अवसर पाएका नेताहरू अहिले उनैलाई ‘धम्क्याउन थालेका’ छन् । कांग्रेसमा बलियो र प्रभावशाली गुट बनाएर लामो समयदेखि संरक्षण पाउँदै आएका नेताले पछिल्लो समय उल्टै देउवालाई धम्क्याउने र दबाब बढाउने नीति लिएका हुन् । 

लगातार दुई पटक सभापति भएका देउवालाई पुनः उठ्न विधानले दिँदैन । यसैले देउवापछि को ? भन्नेमा प्रस्ट नहुँदा आ–आफ्नो ‘राजनीतिक भविष्य’ सुनिश्चित गर्न नेताहरूले देउवामाथि दबाब बढाउन थालेका हुन् ।  १५ औं महाधिवेशनमा देउवा नउठ्ने भएपछि उनैले मौका दिएका नेताहरू अहिले अन्यत्रै चौका हान्ने ध्याउन्नमा लागेका हुन् । 

महाधिवेशन आउन अझै केही वर्ष नै बाँकी छ । तर, नेताहरूले पाए देउवातिरै नभए अन्यत्र लाग्ने संकेत दिन थालेका हुन् । यस्तो लाइनमा देउवाले पटकपटक पार्टी संरचना, मन्त्री र सांसदमा अवसर दिएका नेता बढी देखिन्छन् । 

देउवा शक्तिमा हुन्जेल राजनीतिक संरक्षण र लाभ लिएकै नेताहरू पछिल्लो समय उनीसँग असन्तुष्ट देखिएका हुन् । यसैले परम्परागत बलिया गुट नरहने स्थिति देखिएसँगै नेताहरू नयाँ शक्ति केन्द्रको खोजीमा निस्कन लागेका हुन् । 

‘हिजो देउवा पटक-पटक शक्तिमा हुनुहुन्थ्यो । शक्तिमा भएकै कारणले नेता/कार्यकर्ता उहाँको पछाडि लागे । प्रशस्त अवसर पनि बटुले । देउवा अब बढीमा एकपटक मात्रै प्रधानमन्त्री हुने हो’, कांग्रेसका एक नेता भन्छन्, ‘यसैले अब देउवा शक्ति केन्द्र नहुने भएपछि देउवानिकटकै नेताहरू सल्बलाउन थालेका छन् । जसले राजनीतिक संरक्षण गर्न सक्छ उतैतिर ढल्कने गरी नेताहरू संवादमा जुटेका छन् ।’ 

यस्तो ध्रुवीकरणमा पूर्णबहादुर खड्का, गगन थापा र डा. शेखर कोइरालामध्ये जसले प्रभाव देखाउन सक्छ नेताहरू उतै लाग्ने ती नेता बताउँछन् ।

‘देउवापछि उहाँकै टिमबाट शक्तिशाली र ठूलो व्यक्तित्व भएको नेता छैनन् । उपसभापति पूर्णबहादुर खड्का हुनुहुन्छ । तर, उहाँको दाबीका बीच देउवाले विरासत बिसाउने देखिँदैन’, कांग्रेसका ती नेता भन्छन्, ‘यसैले एउटा समूह उनीतिर पनि लाग्न सक्छ । तर, ध्रुवीकरणमा कोही गगनसँग, कोही शेखरसँग, कोही पूर्णबहादुरसँग लाग्ने देखिन्छ । कोही नयाँ गुटको अभ्यासमा पनि छन् ।’

यो पनि पढ्नुहोस्- रमेश लेखकबाट ‘असुरक्षा महसुस’ गर्दै एनपी साउँदले छोडे देउवा गुट !

देउवाले पटकपटक अवसर दिएका प्रवक्ता डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, एनपी साउँददेखि केन्द्रीय सदस्यसम्मका नेताले दबाब बढाउन थालेका नेताहरू बताउँछन् । 

देउवा र आरजुका विश्वासपात्र महत यही टिमबाट यसअघि सहमहामन्त्री भएका थिए । महत १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । तर पनि देउवाले भरोसा गरेर उनलाई पार्टीको प्रवक्ता बनाए । तर, पछिल्लो समय महतको लाइन संस्थापनलाई सहयोग गर्ने हिसाबको नभएको देउवा समूहकै नेताको दाबी छ । 

कांग्रेस-एमालेको संयुक्त सरकार र यसले गरेका कामकै समेत आलोचना गरेको भन्दै महतको विरोध हुन थालेको छ । पार्टीले समेत मानेपछि पनि चीनसँग गरिएको बीआरआईको सहमतिमा महतले खुलेर समर्थन गरेका थिएनन् । पछिल्लोपटक सरकारका काम गराइमा समेत महत असन्तुष्ट बनेका छन् । 

पार्टी बैठकमै मन्त्रीका कामको आलोचना गर्ने, पदाधिकारीप्रति कठोर टिप्पणी गर्ने गरेको भन्दै उनी देउवा समूहमै आलोचित छन् । उनको यसै असन्तुष्टिलाई कतिपयले उनले क्याम्प छोड्न लागेको रूपमा व्याख्या गर्न थालेका छन् । 

यही सूचीमा देउवाले मन्त्री र सांसदमा पटकपटक अवसर दिएका केन्द्रीय सदस्य एनपी साउँद पनि छन् । उनी त खुलेरै शेखर समूहका कार्यक्रममा देखिन थालेका छन् । पछिल्लो केही समययता शेखरले जसरी सरकार र पार्टी नीतिको विरोध गर्छन्, साउँदको शैली पनि त्यही देखिने गरेको नेताहरू नै बताउँछन् । १४औं महाधिवेशनमा महामन्त्रीमा दाबेदारी गरे पनि देउवाले दिएनन् । बरु महत र अर्को टिमबाट ल्याएर प्रदीप पौडेललाई उम्मेदवार बनाए ।

देउवासँग असन्तुष्ट रहेका अर्का नेता हुन् बालकृष्ण खाँण । नक्कली भुटानी शरणार्थी प्रकरणमा सभापति देउवाले आफ्नो बचाउ नगरेको भन्दै उनी असन्तुष्ट छन् । कांग्रेस सरकारमै भएका बेला खाँणलाई पक्राउ गरेर मुद्दा चलाइएको थियो । सो मुद्दापछि उनलाई जेलमै गएर पटकपटक भेटेका शेखरसँग उनको सौहार्द सम्बन्ध विकसित भइरहेको नेताहरू बताउँछन् । 

नेविसंघ र तरुण दलको अध्यक्ष भएका खाँणको नेटवर्क देशव्यापी रहेको नेताहरू दाबी गर्छन् । यसैले देउवासँग असन्तुष्ट रहेका खाँणलाई शेखरले आफ्नो पक्षमा ल्याउन सबै प्रयत्न लगाएका छन् । खाँण पनि अघिल्लो महाधिवेशनमा महामन्त्रीका दाबेदार थिए । तर, पाएनन् । त्यतिखेरदेखि नै उनी असन्तुष्ट हुन थालेका थिए । 

देउवाले खाँणलाई पनि गृहमन्त्री, रक्षामन्त्री बनाइसकेका छन् । खाँणलाई आफ्नो समूहमा ल्याउन सके उनीबाट प्रभावित भएका पदाधिकारी, केन्द्रीय सदस्य, जिल्लाका सभापति, नेता/कार्यकर्ताको ठूलो पंक्ति आउने विश्वास शेखर पक्षको छ । 

खुलेरै शेखरतिर नलागे पनि खाँणले देउवामाथि निरन्तर दबाब बढाइरहेका छन् । देउवासमेत दाङ पुगेको कार्यक्रममा खाँणले केही दिन अगाडि शेखर कोइराला कृष्णप्रसाद कोइरालाको नाति भएको भन्दै सांकेतिक भाषण गरेका थिए । खाँण शेखरतिर लागे देउवा टिमबाटै समहामन्त्री जितेका महेन्द्र यादवसमेत आफूतिरै आउने शेखर पक्षले हिसाब निकालेको छ । 

पछिल्लो समय देउवासँग असन्तुष्ट रहेका अर्का नेता हुन् प्रचार विभाग प्रमुख मीन विश्वकर्मा । कुनै समय संस्थापनको चर्को वकालत गर्ने विश्वकर्मा अहिले अर्को समूहको शैलीमा प्रस्तुत हुने गर्छन् । सरकारले नतिजा नदिएको भन्दै आएका विश्वकर्माको बोली अध्यादेशको विरोधमा शेखर टिमसँग बढी मिल्ने गरेको छ । देउवासँग असन्तुष्ट भए पनि उनले अर्को टिमको पक्षमा खुलेर अरुले जत्तिको वकालत भने गरेका छैनन् । 

देउवालाई लामो समय साथ दिएकी प्रभावशाली नेतृ एवं समहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’समेत संस्थापनसँग असन्तुष्ट रहेको नेताहरू दाबी गर्छन् । २०७९ सालमा मकवानपुरबाट जितिसकेको चुनाव पार्टी भित्रैबाटै अन्तर्घात गरेर हराइएको भन्दै उनी चरम असन्तुष्ट बनेकी थिइन् । त्यसयता उनी खुलेर संस्थापनको बचाउमा लाग्ने नगरेको नेताहरू दाबी गर्छन् । उनी असन्तुष्ट रहेको बुझैरै शेखर पक्षले उनीसँग संवाद बढाएको नेताहरूको दाबी छ । 

डिनाले १४ औं महाधिवेशनमा देउवा टिमबाटै सहमहामन्त्री जितेकी थिइन् । कांग्रेसमा विधान संशोधन गरेर महिला उपसभापतिको व्यवस्था गर्ने चर्चा छ । उपसभापति थपिए डिनाले यो पदमा दाबी गर्ने नेताहरू बताउँछन् । तर, अरुले जस्तो डिना खुलेर लागेकी छैनन् । 

‘असन्तुष्ट भए पनि उहाँले अरुले जस्तो खुलेरै संस्थापनको विरोध गर्नुभएको छैन । तर, चुनाव हराएदेखि असन्तुष्ट नै हुनुहुन्छ’, एक नेताले भने, ‘पार्टीले महिला उपसभापतिको व्यवस्था गर्ने बुझेका छौं । यस्तो भए सिनियर नेता भएकोले पनि त्यस्तो पदमा उहाँको दाबेदारी हुने देखिन्छ ।

यो पनि पढ्नुहोस्- कांग्रेस महाधिवेशन– आकांक्षीको लर्को अघिअघि, पार्टी पछिपछि !

देउवा टिमबाटै महिला संघको अध्यक्ष, सांसद भएकी डा. डिला संग्रौलासमेत देउवासँग असन्तुष्ट हुने नेतामा पर्छिन् । निरन्तर लागे पनि मन्त्री नबनाएको, विराटनगरमा मेयरको टिकट नदिएको भन्दै उनी असन्तुष्ट रहँदै आएकी छिन् । संग्रौला संस्थापनसँग असन्तुष्ट नेता साउँदैसँगै जिल्ला दौडाहामा निस्किएकी थिइन् । पछिल्लो समय शेखर समूहका कार्यक्रमप्रति उनको झुकाव देखिने गरेको छ । तर, लोकान्तरसँग कुरा गर्दै संग्रौलाले आफू गुटगत गतिविधिमा नरहेको दाबी गरिन् । 

यी मात्रै होइन देउवा समूहका खम्बा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, भीष्मराज आङदेम्बेसमेत शेखरको सम्पर्कमा पुगेको नेताहरू दाबी गर्छन् । बस्नेत र आङदेम्बेले सभापति देउवा हुन्जेल मात्रै उनीप्रति प्रतिवद्ध रहने बताउँदै आएका छन् । 

देउवानिकटका नेता वीरबहादुर बलायर अवसर पाएकोले फेरि अन्यत्र पनि अवसरकै लागि बाटो हेरेको हुन सक्ने बताउँछन् । ‘अब पनि सभापतिसँग बार्गेनिङको कुनै अर्थ रहँदैन । किनकी सभापतिले दिने दिइसक्नुभयो । उनीहरूले पाउने पाइसके’, बलायरले भने, ‘पछिल्ला मुभमेन्ट हेर्दा व्यक्तिपिच्छे असन्तुष्टि देखिन्छ । केही नेताको असन्तुष्टिले सिंगो समूहको प्रतिनिधित्व गर्दैन । उता जान खोज्ने पनि छन् । अरु समूहबाट यता आउने, आउन खोज्ने पनि उत्तिकै छन् ।’

तर, पटकपटक अवसर पाएकोले ‘दिने भए दे, नत्र छोड्छु’ भनेर धम्काउनु अनुचित भएको उनी बताउँछन् । ‘देउवाजीले आफ्नो टिमका मात्रै होइन, अरु टिमकालाई समेत पटकपटक अवसर दिनुभएको छ । उहाँले ठूलो मन गरेर अवसर दिनुभएकै छ’, बलायर भन्छन्, ‘यता अवसर पाएपछि अब पाइँदैन भन्ने भएपछि केही अरु समूहको सम्पर्कमा पुगेका छन् । अहिलेसम्म अवसर नपाएका थुप्रै नेता ठीकै छ नि त भनेर पनि बसेका छन् ।’

देउवा अर्को कार्यकाल सभापति नहुने भएपछि अब देउवा समूह विभाजित हुन्छ । यो समूह विभाजित हुने भनेको विघटन हुनु सरह हो । -गेजा शर्मा वाग्ले

देउवाको दाबी नहुने भएपछि आफूलाई कम्फर्टेबल हुने ठाउँको खोजीमा नेताहरू लागेको राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले बताउँछन् । ‘सभापति देउवा शक्ति र सत्तामा हुँदासम्म नेताहरू उहाँकै वरिपरी भए । अब एकपटक प्रधानमन्त्री बन्नेबाहेक देउवा सत्ता वा शक्तिकेन्द्रका रूपमा रहँदैनन् भन्ने देउवा समूहका नेता–कार्यकर्ता सबैले बुझिसके’, उनले भने, ‘त्यसैले देउवा शक्तिकेन्द्रका रूपमा नरहने भएपछि देउवा समूहका नेता–कार्यकर्ताहरू राजनीतिक संरक्षण गर्ने नेताको खोजीमा लागिसकेका छन् । यसैले जसलाई जहाँ कम्फर्टेबल हुन्छ, त्यही खालको समीकरण र ध्रुवीकरण हुने परिदृश्य देखिएको छ ।’

समूह विभाजित हुने भएपछि संस्थापनमा बढी हलचल देखिएको विश्लेषक वाग्ले बताउँछन् । ‘देउवा अर्को कार्यकाल सभापति नहुने भएपछि अब देउवा समूह विभाजित हुन्छ । यो समूह विभाजित हुने भनेको विघटन हुनु सरह हो । अर्को शेखर–गगन समूह छ’, वाग्ले भन्छन्, ‘शेखर कोइराला वा गगन थापा एक जना सभापतिको आकांक्षी भएको भए यो समूह कायम रहन सक्थ्यो । तर, दुवै जना आकांक्षी भएको परिदृश्यमा यो समूह पनि विभाजित हुँदै विघटन हुनेछ ।’

परम्परागत गुटको सट्टामा अब कांग्रेसमा उदारवादी र प्रगतिशील धार स्थापित हुने दाबी वाग्लेको छ । ‘परम्परागत दुवै समूहमा विघटन भएपछि सैद्धान्तिक–वैचारिक आधारमा नयाँ ध्रुवीकरण तथा समीकरण हुन्छ । यस्तो ध्रुवीकरण तथा समीकरण हुँदा ०६२/६३ को जनआन्दोलन स्थापित गरेको गणतन्त्र, लोकतन्त्र, समावेशीकरण लगायत उदारवादी र प्रगतिशील धारको नेतृत्व गगन थापाले गर्नुहुन्छ’, उनले भने, ‘बाँकी कन्जरभेटिभ धारतर्फ उन्मुख हुने सम्भावना देखिन्छ र अन्ततः उदारवादी, प्रगतिशील र जनतामुखी धारको नेतृत्व स्थापित हुने सम्भावना बढी देखिन्छ । किनभने जनता र कार्यकर्ताले यही धारलाई सहयोग र समर्थन गर्छन् ।’

कांग्रेसको स्थापनादेखिकै धार जनमुखी र उदारवादी रहेको समेत उनी बताउँछन् । ‘बीपी कोइरालाले पनि प्रगतिशील, उदारवादी, समावेशीकरण र जनमुखी धारको राजनीति गर्नुभएको थियो । तर, मातृकाप्रसाद कोइराला कन्जरभेटिभ थिए’, उनले भने, ‘कांग्रेसमा स्थापनादेखि उदारवादी, प्रगतिशील र जनमुखी धार, नीति र नेतृत्त्व स्थापित हुँदै आएको छ, अब पनि त्यही हुन्छ ।’

सभापतिमा लड्न नपाए खड्का पनि बिच्किने
सभापति देउवाले आफूलाई विरासत छोड्नुपर्छ भन्नेमा उपसभापति पूर्णबहादुर खड्का छन् । देउवापछि आफू नै सिनियर भएकोले यसै समूहबाट स्वतः १५औं महाधिवेशनमा सभापति लड्न पाउनुपर्ने दाबीमा खड्का छन् । 

अरुले जस्तो खुलेर खड्काले गुट परिवर्तनको तयारी गरेका छैनन् । तर, आफू निकटका नेतालाई संगठित गर्नेगरी कार्यक्रम तय गर्ने र भेटघाटमा सक्रिय हुने रणनीतिमा खड्का छन् । सभापतिमा देउवाले अर्को समूहका नेतालाई उभ्याए खड्काले यो समूहमा विद्रोह गर्ने सम्भावना रहेकोसमेत नेताहरू बताउँछन् ।

देउवाले सभापतिमा महामन्त्री गगन थापा, डा. शशांक कोइराला र कृष्णप्रसाद सिटौला; जसलाई रोजे पनि खड्काले कि सभापतिमा उम्मेदवारी दिने कि विद्रोह गर्ने चर्चा कांग्रेसमा छ । 

salt training

कमेन्ट गर्नुहोस्