
‘समयमै नसर्ने रोगको जाँच गराऔं, स्वस्थ र दीर्घ जीवन बचाऔं’ भन्ने मूल नाराका साथ आज जनकपुरधामस्थित जनस्वास्थ्य प्रयोगशालामा निःशुल्क स्वास्थ्य जाँच शुरू गरिएको छ ।
नसर्ने रोगको रोकथाम तथा सचेतनाका लागि मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले एकमहिने विशेष अभियान शुभारम्भ गरेका हुन् ।
मन्त्री सिंहले अभियान मधेश मात्र नभई सातै प्रदेशमा एकसाथ सञ्चालन भइरहेको बताए । 'रोग लागेपछि उपचार गर्नुको साटो रोग लाग्न नदिन सचेतना आवश्यक छ । यस अभियानले जनतालाई स्वास्थ्य जोखिमबारे जानकारी दिनुका साथै रोग पहिचान तथा रोकथाममा मद्दत पुग्नेछ,' उनले भने ।
स्वास्थ्य निर्देशनालयका निर्देशक श्रवणकुमार नायकले नसर्ने रोगको समयमै पहिचान गरी उपचार प्रक्रियामा सहभागी हुन आमनागरिकलाई आग्रह गरे ।
उनले भने, 'जनतालाई प्रारम्भिक चरणमै रोग पहिचान गराई आवश्यक उपचार सेवा उपलब्ध गराउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो । अभियानले नागरिकलाई नसर्ने रोगहरूबारे सचेत बनाउँदै उपचार प्रक्रियामा सहभागी गराउने छ,' नायकले भने ।
अभियानका क्रममा प्रदेशका विभिन्न स्थानमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिनुका साथै १३६ वटै पालिकामा सञ्चालन गरी समुदाय स्तरमै रोग पहिचान र रोकथामका उपायहरूबारे जनचेतना अभिवृद्धि गरिने प्रयोगशालाले जनाएको छ ।