०६ असार २०८३, शनिबार

टीकापुरलाई गुलाबको शहर बनाउन अभियान शुरू

फागुन २, २०८१
कैलाली
टीकापुरलाई गुलाबको शहर बनाउन अभियान शुरू

प्रणय दिवसका अवसरमा टीकापुरलाई गुलाबको शहर बनाउने अभियान शुरू गरिएको छ । आज आयोजित एक कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले गुलाबको बिरुवा रोपेर अभियानको औपचारिक शुरूआत गरेका हुन् ।

उनले टीकापुरलाई गुलाबको शहर बनाउने अभियानको शुरूआत गर्नु मात्र ठूलो कुरा नभएको र त्यसलाई व्यवस्थित गर्नेतर्फ ध्यान दिन नगरपालिकालाई सुझाव दिए । 'बजारमा गुलाब रोपेर शहरलाई सुन्दर बनाउने काम राम्रो हो,' उनले भने, 'यस अभियानमा सबै नागरिकले सघाउनुपर्छ ।  मेरो तर्फबाट पनि साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु ।'

मन्त्री चौधरीले टीकापुर बजारलाई गुलाबको शहर बनाउँदै गर्दा टीकापुर पार्कलाई ओझेलमा पार्न नहुने बताए ।

टीकापुरलाई गुलाबको शहर बनाउने अभियानलाई सहयोग पुगोस् भनी सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रले रु पाँच लाख सहयोग हस्तान्तरण गरेको छ ।  

कार्यक्रममा प्रदेशसभा सदस्य ललिता सुनारले नगरपालिकाको अभियान राम्रो भएको र अभियान सफल पार्न आफूले सघाउने बताइन् ।

सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णप्रसाद न्यौपानेले आफूले गुलाबको बगैँचासहितको गुलाबको शहर कतै नदेखेको बताए । 'यो नै विश्वको गुलाबको पहिलो शहर हुनेछ,' उनले भने, 'यसलाई पर्यटकीय हिसाबले पनि विकास गर्न सकिन्छ ।'​

नगरप्रमुख रामलाल डंगौरा थारूले टीकापुरलाई गुलाबको शहर बनाउने अभियानमा टीकापुर नगरपालिकाको पैसा खर्च नगरेरै श्रमदान तथा अरूको सहयोगबाट गुलाब रोप्न लागेको र त्यसमा सहयोग गर्न सबैलाई अपिल गरे ।

पहिलो दिन टीकापुर नगरपालिकाको प्राङ्गणमा र खडक चोकदेखि जमरा पुलबीचको भागमा गुलाबका बिरुवा रोपिएका छन् । 

गुलाब रोप्ने अभियानमा विभिन्न विद्यालय र समुदायले श्रमदान गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्