
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि गर्नु जरुरी रहेको बताएका हुन् ।
‘पार्टीलाई कसरी बलियो बनाउने भन्नेतर्फ केन्द्रित हुनुपर्छ, पार्टी र हामीभन्दा पनि म भन्ने प्रवृत्ति हाबी हुँदा पार्टी कमजोर हुन्छ’, महतले भने ।
व्यक्तिवादी प्रकृतिले पार्टीलाई कमजोर बनाउने उनको भनाइ छ । उनले थपे, ‘पार्टीलाई बलियो बनाउनका लागि व्यक्तिवादी प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ ।’
माथिबाट तल्लो तहसम्म निर्वाचन हुने प्रक्रियाले निर्वाचित हुनेले आफू भन्ने र हार्नेले असहयोग गर्ने प्रवृत्ति अन्त्य गर्न विधानका कमीकमजोरीलाई सच्याउन आवश्यक रहेको उनले बताए ।
एकले अर्कोलाई स्वीकार गर्ने वातावरण तयार गरेर अघि बढ्नु अहिलेको आवश्यकता रहेको महतको भनाइ छ ।
अर्को प्रसङ्गमा महतले पार्टीको महाधिवेशन २०८२ सालमा सम्भव नरहेको बताए । ‘पार्टीको १५औं महाधिवेशन केही समय पछि सर्न सक्छ, तयारी केही पुगेको छैन, तयारीका लागि केही समय थप गर्न सकिन्छ’, प्रवक्ता महतले भने ।
विधानतः एक वर्ष ६ महिना थप्न सकिने भए पनि कति समय थप हुन्छ केन्द्रीय समितिको बैठकले निर्णय गर्ने उनको भनाइ छ ।