
उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले संघीयता बलियो बनाउन र संविधान कार्यान्वयनका लागि आवश्यक ऐन, कानून संशोधन गर्न अहिलेको सरकार बनेको बताएका छन् ।
शनिबार बुटवल उपमहानगरपालिकाको ५५औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थितरताका लागि संसद्का प्रमुख दुई दल मिलेर सरकार बनाइएको बताए ।
उनले संघीयताको मूल भावना अनुसार संघ, प्रदेश र स्थानीय; तीनै तहको सरकारलाई पूर्ण अधिकार सम्पन्न बनाउन सरकार लागिरहेको बताए ।
‘राजनीतिक स्थिरताको जनचाहना पूरा गर्न, समयको आवश्यकता अनुसार संसद्का दुई ठूला दल मिलेर सरकार बनेको छ । कुर्सीमा जानका लागि मात्र अहिलेको सरकार बनेको होइन’, उपप्रधानमन्त्री सिंहले भने, ‘संघीयताको मूल भावना अनुसार तीनै तहको सरकारलाई पूर्ण अधिकारसम्पन्न बनाउन सरकार लागिरहेको छ । राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि सरकार लागिरहेको छ ।’
बनाउनका लागि नै अहिले संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलहरू मिलेर अहिले सरकार बनेको बताए ।
उनले मापदण्ड पुगेमा बुटवल महानगरपालिका बन्न सक्ने बताएका छन् । सबै क्षेत्रबाट विकसित शहर बुटवल स्थानीय तह पुनर्संरचना हुने बेलामा विभिन्न कारणले महानगर बन्ने सकेको थिएन ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले राजनीतिक दाउपेचका कारण बुटवल महानगरपालिका बन्न नसकेको बताउँदै अब महानगर बन्नुपर्ने बताए ।
उनले बुटवल सबै क्षेत्रबाट अब्बल रहेको भन्दै यसको विकासमा सबै जुट्नुपर्ने उल्लेख गरे । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बुटवलका गतिविधि सबै पालिकाले सिक्न लायक रहेको बताए ।