
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका सिद्धराज सार्कीले भाडामा जग्गा लिएर व्यावसायिक तरकारी खेती गर्दै आएका छन् ।
दुई दशकदेखि तरकारी खेती गर्दै आएका उनले डेढ बिघा जग्गा भाडामा लिएका छन् । वर्षमा सार्कीले सात लाख बढीको तरकारी बिक्री गरी गतिलो आम्दानी लिँदै आएको बताउँछन् । तरकारी खेतीको कमाइबाट चार जनाको परिवारको खर्च समेत धानेका छन् ।
अरुको जग्गामा बस्दै आएका सार्कीले तरकारी खेतीबाट भएको आम्दानीबाट घरबासका लागि एक कट्ठा जग्गा समेत खरिद गरेका छन् । ‘तरकारी खेतीको आम्दानीको रकम खर्च गरी छोरीको बिहे गरेँ’, सार्कीले भने, ‘जग्गा खरिद गर्दा लागेको ऋण तिर्न भ्याएँ । घरको पूरै खर्च तरकारी खेतीले धानिएको छ ।’
तरकारी खेती नै कमाइ गर्ने एकमात्र माध्यम रहेको सार्की बताउँछन् । पहिले नदीको बगरमा सार्कीले मौसमी रूपमा तरकारी खेती गर्थे । बगरखेती गर्दै जाँदा व्यावसायिक खेती गर्ने हिम्मत जागेको उनी सुनाउँछन् । आफन्तबाट केही रकम सापटीका रूपमा लिएर तरकारी खेती गरेको विगत सम्झिँदै सार्की भन्छन्, ‘पहिलो वर्षमै गतिलो आमदानी हात लागेपछि त्यो रकम तिर्न भ्याएँ । बचेको रकम तरकारी खेतीमै लगाएर काम गर्दै गएँ । त्यसपछि पैसाका लागि कसैलाई गुहार्नुपरेको छैन ।’
कृषि ज्ञान केन्द्रबाट सार्कीले व्यावसायिक तरकारी खेतीसम्बन्धी तालिम लिएका छन् । तालिम लिएपछि तरकारी खेती गर्ने आधुनिक तौरतरिका सिकेर उनी निपूर्ण भएका छन् । तरकारीमा वडामै एक्लो किसान भएकाले नगरपालिकाबाट पनि सार्कीले टनेल अनुदानमा प्राप्त गरेका छन् ।
दुई दशक भारतमा काम गरेका सार्की तरकारी खेतीबाटै भारतको भन्दा तेब्बर बढी कमाइ हुन थालेपछि स्वदेशमा काम गर्न थालेको बताउँछन् । कृषि कार्यमा गतिलो कमाइ हुने भएकाले भारतमा रहेका छोरालाई आफूसँगै सघाउन घर बोलाउने सोच सार्कीको छ । बाह्रै महिना तरकारी खेती गर्दै आएका उनको बारीमा अहिले गोँलभेडा, बन्दा, बोडी, खुर्सानी, मुला, भाण्टा, हरियो मटर लटरम्म फलेको छ ।
हरियो खुर्सानीमात्र एक महिनामा २० हजारको बेचेको सार्की बताउँछन् । उनको बारीमा गोँलभेडामात्र ५० हजार बढीको उत्पादन भएको छ । सार्की लौका, काँक्रा, तितेकरेला, फर्सीलगायत रोप्ने तयारीमा छन् । श्रीमान्श्रीमती दुवैले काम गर्न नसक्ने भएकाले तीन जना दैनिक ज्यालादारीमा कामदार राखेर काम गराउँदै आएको उनको भनाइ छ ।
उत्पादित तरकारी भने स्थानीय बजारमा सहज रूपमा बिक्री हुने गरेको छ । बजार खोज्दै हिँड्नु नपरेको सार्की बताउँछन् । मौसमीभन्दा बेमौसमी तरकारीमा बढी आम्दानी हुने भएकाले त्यसमा उनले बढी जोड दिँदै आएका छन् । भविष्यको योजना सुनाउँदै सार्कीले तरकारी खेतीलाई विस्तार गरी उत्पादन बढाएर बढी आम्दानी लिने सोच रहेको बताए ।
‘अहिले वर्षमा ६ लाखदेखि ७ लाखसम्म आम्दानी हुँदै आएको छ’, उनले भने, ‘त्यसलाई बढाएर दोब्बर पार्ने योजना छ ।’