
मुगु ६ कात्तिक – जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि मंगलबारबाट निर्बाचन टोली मतदान केन्द्रतर्फ लागेका छन् ।
सोरु गाउँपालिकाका १६ वटा मतदान केन्द्र र मुगुम कार्मारोङ्गका १० वटा मतदा केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मी सहितको टोली मतदान केन्द्रतिर खटाइएको मुख्य निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रत्येक बुथमा मतदान अधिकृत सहित ९ देखी १२ जना कर्मचारी र ८ देखी १५ सुरक्षाकर्मीको टोली मतदान केन्द्रतिर पठाइएको मुख्य निर्वाचन अधिकृत जवाहर प्रसाद सिंहले बताए ।
सोरु गाउँपालिकामा प्रहरी निरीक्षकको नेतृत्वमा १ सय ५० जना सुरक्षाकर्मी र मुगुम कार्मारोङ्ग गाउँपालीकामा प्रहरी निरीक्षकको नेतृत्वमा १ सय १० जना सुरक्षा कर्मी खटाइएको प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी गराए ।
खत्याड गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा बुधबार र बिहिबारमा निर्बाचन टोली खटाइने भएको छ । जिल्लाको डोल्फू र मुगुमा निर्बाचन टोली पुग्न करिव दुई दिन र सोरु गाउँपालिकाको नेर धैनकोट र खत्याड गाउपालिकाको हयाङलु मतदान केन्द्रमा पनि निर्बाचनको टोली पुग्न दुई दिन लाग्ने जिल्ला निर्बाचन कार्यालयले जानकारी दिएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचनको लागि ८ सय कर्मचारी र करिव १६ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको भनाई रहेको छ । ६० वटा मतदान केन्द्र रहेको मुगुमा ३० हजार १५ जना मतदाता संख्या रहेका छन् ।
तीन वटा गाउँपालिका र एक नगरपालिका रहेको हिमाली जिल्ला मुगुमा एक निर्बाचन क्षेत्र र दुई वटा प्रदेश सभा निर्बाचन क्षेत्र रहेको छ ।