
गत असोज दोस्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न खण्डको मर्मत थालिएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षतिग्रस्त नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको मर्मत थालिएको जनाएको हो ।
हाल बगरमा गरिएको डाइभर्सन तथा सडकको पुरानो अवस्थालाई हेरी दुईदेखि तीन मिटरसम्म ग्राभेल भरेर उचाई बनाउने तथा अप्ठेरो भएका स्थानमा जाली भरेर उचाइ बनाउन थालिएको कार्यालय प्रमुख, सिनियर डिभिजनल इञ्जिनीयर सुमन योगेशले बताए ।
आगामी वर्षायाममा यातायात सञ्चालनमा कठिनाइ नहोस् भन्ने उद्देश्यले क्षतिग्रस्त सडक चौडा पार्ने, सम्याउने तथा ग्राभेल भरेर रोशी खोलाको सतहभन्दा करिब तीन मिटर उचाइ बनाउने काम थालिएको उनले जानकारी दिए । उनका अनुसार कूल १३ किलोमिटर क्षतिग्रस्त सडकमध्ये पहिलो चरणमा आठ किमी मर्मत गरिनेछ भने बाँकीको योजना बनाइनेछ ।
विभागद्वारा उपकरण तथा जनशक्ति परिचालन गरी क्षतिग्रस्त १४ स्थानमा सडक मर्मत थालिएको जनाइएको छ । ‘सरकारद्वारा स्रोत सुनिश्चितताको प्रक्रिया पनि भइरहेकाले स्थायी रूपमा सडक पुनःनिर्माण अघि हाल बीपी राजमार्गलाई प्राथमिकतामा राखेर मर्मत थालिएको हो’, योगेशले भने ।
उनका अनुसार आउँदो वर्षायाममा यातायात अवरुद्ध हुन नदिने लक्ष्यका साथ मर्मत शुरू भएको हो । योगेशले भने, ‘मर्मतलाई तीव्रता दिनुपर्ने भए रातको समयमा पनि काम गर्न सकिन्छ ।’
साताअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, भक्तपुर डिभिजनका अधिकारीको टोलीले स्थलगत निरीक्षण गरेको थियो ।
निरीक्षणका क्रममा मन्त्री दाहालले सो राजमार्ग मर्मत तथा पुनःनिर्माणमा स्रोत सुनिश्चितताको तयारी भइरहेको बताएका थिए । उनले शुक्रबार मन्त्रालयको दुई सय दिनका उपलब्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा समेत गत असोजको बाढीबाट क्षति पुगेको बीपी राजमार्ग आगामी वर्षायाममा निरन्तर सञ्चालन हुनेगरी काम भइरहेको जानकारी गराएका थिए ।