
वर्तमान सरकारले विश्वविद्यालय र अन्य सरकारी निकायमा मेरिटोक्रेसी मिचेको भन्ने माओवादी केन्द्रका सांसदको प्रश्नप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा भएको प्रश्नोत्तर कार्यक्रममा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सोधेको प्रश्नको जवाफमा ओलीले त्रिविको भीसी नियुक्तिमा दोस्रो नम्बरकालाई ल्याइएको बारे कटाक्ष गरेका हुन् ।
‘मेरिटोक्रेसी मिचियो भन्ने प्रश्न माननीयले सोध्नु भयो । त्रिविको भीसी नियुक्तिमा पहिलो नम्बरकालाई हटाएर दोस्रो नम्बरकालाई नियुक्त गरेर मेरिटोक्रेसीको धिमे बजाइएको होइन ? त्यही हो मेरिटोक्रेसी । पहिलोलाई हटाएर दोस्रोलाई ल्याउने ? गजबको थियो मेरिटोक्रेसी’ ओलीले भने । ओलीको प्रश्नोत्तर चलिरहेको समयमा पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदमा थिए । प्रचण्ड सरकारले भीसी नियुक्त गरेको थियो ।
अर्थतन्त्रमा शिथिलता आएको र जनताको चुलो महँगो भएको भन्ने वर्षमानको प्रश्नलाई रूचिकर प्रश्न भन्दै ओलीले जवाफ दिए– ‘७ महिना अगाडि तपाई आफैं अर्थमन्त्री हुनुहुन्थ्यो । मूल्यबृद्धिको अनुपात हेर्न आग्रह गर्छु । पुँजीगत खर्च माननीय अर्थमन्त्री भएको तुलनामा बढी छ ।’
अध्यादेश ल्याएर संसदलाई अपमान गर्न खोजिएको भन्ने वर्षमानको प्रश्नको जवाफका क्रममा ओलीले कसैको दल विभाजनका लागि सरकारले अध्यादेश नल्याउने बताए । ‘अध्यादेश ल्याएर संसदलाई किन होच्याएको ? भनेर प्रश्न गर्नुभयो । २०८० वैशाख २० गते संसद् शुरू हुनुभन्दा ४ दिन अघि किन ल्याइएको थियो । आवश्यक पर्दा अध्यादेश ल्याउने व्यवस्था संविधानले गरेको छ’ ओलीले भने, ‘विगतमा मैले अध्यादेश ल्याउँदा लोकतन्त्र सिद्धयाउन खोज्यो, संविधान मास्न खोज्यो भनियो । मेरै पार्टी फुटाउन २० या २० भनेको होइन ? पार्टी फुटाउने वा जोडिदिने मेरो काम होइन । मेरो शोखको विषय होइन, त्यस प्रकारको अध्यादेश ल्याएको छैन, कसैको पार्टी फुटाउन २० वा २० जस्तो प्रावधान ल्याउने छैन ।’