
सङ्खुवासभाको खाँदबारी नगरपालिका प्रमुख महेश थपलिया र वडा नम्बर ९ का अध्यक्ष विमलराज गौतमबीच प्रमुखको कार्यकक्षमै चर्काचर्की परेको छ ।
आइतबार दिउँसो ४ बजे प्रमुख थपलियाको कार्यकक्षमा पुगेका गौतम र प्रमुख थपलियाबीच चर्काचर्की परेको हो । नगरप्रमुख थपलियाले गौतमले आफूलाई गालीगलौज गरेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार वडा अध्यक्ष गौतमले मादक पदार्थ सेवन (मापसे) गरेको पाइएको छ । मापसे गरेर नगरपालिका प्रवेश गरेका वडा अध्यक्षले अपशब्द प्रयोग गर्दै आफूलाई हातपात गर्ने प्रयास गरेको मेयर थपलियाको दाबी छ ।
वडाध्यक्ष गौतमले कर्मचारीलाई पनि गालीगलौज गरेको थपलियाले बताए । थपलियाले आफूमाथि वडा अध्यक्षले दुर्व्यवहार गरेको र केहीबेर कार्यकक्षमै थुनेर राखेको बताए ।
मेयरले थपलियाले वडाका विभिन्न योजनाको बजेट कटौती गरेको आरोप छ । वडाध्यक्ष गौतम नेकपा एमालेबाट निर्वाचित भएका हुन् भने प्रमुख थपलिया नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।
प्रमुख थपलियाले प्रहरीलाई घटनाबारे जानकारी दिएपछि वडा अध्यक्ष गौतम र वडासदस्य टीकाराम कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खाँदबारी नगरपालिका कार्यालय परिसरबाटै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।