२८ जेठ २०८३, बिहीबार

काठमाडौंमा वाम गठवन्धनका उम्मेदवार–घरदैलोमा व्यस्त

काठमाडौंमा वाम गठवन्धनका उम्मेदवार–घरदैलोमा व्यस्त

काठमाडौं, ६ मंसिर –वाम गठबन्धनका उम्मेदवारले काठमाडौंमा चुनावी घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । काठमाडौंमा मंसिर २१ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएसँगै उत्साहित बनेका वाम गठबन्धनका उम्मेदवारले चुनावी अभियानलाई तीव्र बनाएका हुन् । अहिलेसम्म १० वटै निर्वाचन क्षेत्रमा करिब ७० प्रतिशत घरदैलो कार्यक्रम सम्पन्न गरेको ती क्षेत्रका उम्मेदवारले जानकारी दिएका छन् । 

एमालेका शीर्ष नेताहरु माधव कुमार नेपाल र इश्वर पोखरेलसहितका उम्मेदवार घरदैलो अभियानमा व्यस्त बनेका हुन् । 

करिब एक हप्ता आफ्नै निर्वाचन क्षेत्रको घरदैलो कार्यक्रममा व्यस्त बनेका नेपाल र पोखरेल पछिल्लो समय राजधानी बाहिरका चुनावी सभामा समेत सहभागी हुन थालेका छन् । 

सोमबार ओखलढुंगाको चुनावी सभामा र मंगलबार चितवनको चुनावी सभामा भाग लिएर वरिष्ठ नेता नेपालँ आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नम्बर–२ को घरदैलो कार्यक्रममा सहभागी भएर आजै सिरहाको सभामा पुगेका छन् । उनले भोलि कागेश्वरी मनोहरामा घरदैलोमा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

महासचिव पोखरेल ओखलढुंगाको चुनावी सभामा भाग लिन त्यता प्रस्थान गरेका छन् ।  ओखलढुंगा उनको जन्मभूमि पनि हो ।  

नेपाल र पोखरेल राजधानी बाहिरका चुनावी सभामा समेत केन्द्रित भए पनि अन्य उम्मेदवार भने आ–आफ्नै चुनावी क्षेत्रको घरदैलो र चुनावी सभामै केन्द्रित भएका छन् ।  
काठमाडौँ क्षेत्र नम्बर–१ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका अनिल शर्मा आफ्नै क्षेत्रको चुनावी अभियानमा व्यस्त छन् । उनलाइ एमालेका तर्फबाट उम्मेदवारको चर्चामा रहेकी सवित्रा भुसालले सहयोग गरिरहेकी छिन् ।  

काठमाडौ क्षेत्र नं. ३ का प्रतिनिधि सभाका उम्मेदवार तथा काठमाडौं जिल्ला कमिटी अध्यक्षसमेत रहेका कृष्ण राईले पनि घरदैलो कार्यक्रमलाई तीव्रता दिएको जानकारी दिए । उनले   भेला, वैठक र सभालाई निरन्तरता दिएको पनि जानकारी दिए ।  ‘मतदाताको घरदैलोमा जाने, उहाँहरुसँग भेटघाट गर्ने, समस्या बुझ्ने जस्ता कामलाई हामीले तीव्रता दिएका छौँ,’ उनले भने, ‘हामीले करिब ७० प्रतिशत घरदैलो कार्यक्रम सम्पन्न गरेका छौँ । अब फेरि एक पटक सकेर दोस्रो पटक पनि जनताको घरदैलोमा जानेछौँ ।’ 

यसैगरी क्षेत्र नं. ४ मा पनि चुनावी प्रचार अभियानलाई तीव्रता दिइएको छ । क्षेत्र नं. ४ बाट प्रतिनधि सभाका उम्मेदवार डा. राजन भट्टराईले आफ्नो चुनावी अभियानलाई तिव्र बनाएको जानकारी दिए । ‘हामी अहिले पनि निरन्तर घरदैलो कार्यक्रममा छौँ,’ उनले भने,  ‘हामी जहाँजहाँ चुनावी अभियान लिएर गएका छौँ । त्यहाँत्यहाँका जनता उत्साहित भएको पाएका छौँ ।’ उहाँले यो पटक क्षेत्र नम्बर–४ मा वाम गठबन्धनको जित निश्चित भएको बताए । सो निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका गगन थापा उम्मेदवार छन् ।    

क्षेत्र नम्बर–५ मा पनि ७० प्रतिशत घरदैलो कार्यक्रम सम्पन्न भएको जानकारी प्राप्त भएको छ । ‘हामीले अहिले ७० प्रतिशत घरदैलो कार्यक्रम सम्पन्न गरेका छौं,’ क्षेत्र नम्बर–५ का उम्मेदवार समेत रहेका महासचिव पोखरेलले भने, ‘अहिले विभिन्न खाले भेला, बैठक र छलफललाई तिव्रता दिएका छौं । यो पटक यो क्षेत्रबाट जित निश्चित छ । पोखरेलसँग नुवाकोट निवासी कांग्रेसका डा. प्रकाशशरण महत उम्मेदवार बनेका छन् । उनका लागि यो नयाँ क्षेत्रसमेत हो । 

क्षेत्र नम्बर–६ मा वाम गठबन्धनका तर्फबाट झक्कु सुवेदी उम्मेदवार छन् । त्यही क्षेत्रमा काठमाडौँ महानगरपालिकाका पूर्व मेयर केशव स्थापित प्रदेश सभातर्फका उम्मेदवार बनेका छन् । 

काठमाडौं क्षेत्र नम्बर ७ मा रामवीर मानन्धर उम्मेदवार छन् । उनले मंगलबारबाट घरदैलो कार्यक्रम सुरु गरेको जानकारी दिए । ‘हामीले मंगलबारबाट एक धक्का दिएका छौँ,’ उनले भने ‘मंगलबारबाट घर–दैलो कार्यक्रम सुरु गर्दा हजारौँको उपस्थिति थियो । यो नै हाम्रो जितको आधार हो ।’ मानन्धरले मंसिर १७ सम्म चुनावी प्रचारलाई तीव्रता दिने जानकारी दिए । उनले आफ्नो मुख्य प्रतिष्पर्धी कांग्रेस भएको र कांग्रेसले उम्मेदवार नै नउठाएकाले जित सहज भएको दाबी गरे । 

क्षेत्र नम्बर ८ मा वाम गठबन्धनका तर्फबाट जीवनराम श्रेष्ठ छन् । उनले पनि ७० प्रतिशत घरदैलो कार्यक्रम सम्पन्न भएको जानकारी दिए । त्यही क्षेत्रबाट एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य प्रदेशसभाबाट उम्मेदवार छिन् ।

काठमाडौ क्षेत्र नं. ९ मा पनि विभिन्न भेला, बैठक र घरदैलो कार्यक्रम तीव्ररुपमा अघि बढेको क्षेत्र नम्बर–९ प्रदेश नं. १ का उम्मेदवार डा.अजयक्रान्ति शाक्यले जानकारी दिए । उनका अनुसार काठमाडौँ वडा–२१ को घरदैलो सकिएको छ भने वडा नं. १४ को ६० प्रतिशत घरदैलो सकिएको छ ।  उहाँले वडा नं.  १२ को ५० प्रतिशत घरदैलो सकिएको बताए ।

त्यसैगरी भीमढुंगा, दहचोक, पुरानो नैकाप, स्युचाटारलगायतका स्थानको ६० प्रतिशत चुनावी प्रचार सकिएको जानकारी दिए । काठमाडौ क्षेत्र नं. ९ मा प्रतिनिधि सभामा एमालेका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ उम्मेदवार छन्। क्षेत्र नम्बर–१० मा वाम गठबन्धनका हितमान शाक्य उम्मेदवार छन् । सो क्षेत्रमा पनि चुनावी घरदैलो कार्यक्रम ७० प्रतिशत सकिएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्