०१ असार २०८३, सोमबार

चोरीको गहना बिक्रीमा विवाद हुँदा ११ वर्षीय बालकको हत्या, घटनामा संलग्न दुई किशोर पक्राउ

फागुन ५, २०८१
सुर्खेत
चोरीको गहना बिक्रीमा विवाद हुँदा ११ वर्षीय बालकको हत्या, घटनामा संलग्न दुई किशोर पक्राउ

दैलेखमा चोरीको सुनका गहना बिक्री गर्ने बेलामा विवाद हुँदा एक जना ११ वर्षीय बालकको हत्या गरिएको छ । दुल्लु नगरपालिकाका ती बालकको हत्या अभियोगका सोही ठाउँका १४ र १७ वर्षीया दुई जनालाई दैलेख प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार दुई बालकले ११ वर्षीय बालकको हत्यागरी उनकै घरको बाँसघारी छेवैमा रहेको खोला किनारमा खाल्डो खनेर पुरिदिएका थिए । 

११ वर्षीय ती बालक माघ २५ गते दिउँसो कसैलाई जानकारी नगराएर नै घरबाट सम्पर्कविहीन बनेका थिए । 

‘त्यसपछि घर परिवारले वरपर सबैलाई सोधपुछ गर्दा पनि उनी फेला परेनन्,’ प्रहरी निरीक्षक सुनारले भने, ‘त्यसपछि माघ २६ गते परिवारले इलाका प्रहरी कार्यालय दुल्लुमा खोजतलासका लागि निवेदन दिनुभयो ।’

सोही निवेदनका आधारमा अनुसन्धान गर्दा उनको हत्या भएको खुलेको सुनारले बताए । ‘शुरूमा हामीले बालक सम्पर्कविहीन हुनुअघि उनको साथमा भएका साथीहरूबारे अनुसन्धान गर्‍यौं,’ उनले भने, ‘शनिबार नियन्त्रणमा लिई दुई बालकसँग सोधपुछ गर्दा आफूहरूले चोरी गरेर सुनका गहना (तिलहरी) बिक्री गर्ने बेलामा विवाद भएको र माघ २५ गते नै हत्या गरेर घर नजिकै रहेको खोला नजिक खाल्डो खनी गाडेको बयान दिए ।’

सोही बयानका आधारमा खोजतलास गर्दा खाल्डोमा गाडेको अवस्था शव फेला परेको प्रहरी निरीक्षक सुनारले बताए । हत्या अभियोगका ती दुई बालकहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्