
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक इतिहासमा सबैभन्दा महत्त्वपूर्ण दिन फागुन ७ नै भएको बताएका छन् ।
प्रजातन्त्र स्थापनाका लागि नेपाली जनताले लामो संघर्ष गरेको उल्लेख गर्दै उनले २००७ सालको क्रान्तिले अन्धकार युगबाट मुलुकलाई दलीय प्रणालीतर्फ अघि बढाएको बताए ।
सोमबार लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले २००७ सालको क्रान्तिलाई सम्झिएका हुन् ।
'पर्सि ७ गते प्रजातन्त्र दिवस छ । नेपालमा सबैभन्दा ठूलो परिवर्तन २००७ सालकै परिवर्तनले ल्याएको हो । यसले मुलुकलाई अन्धकार युगबाट बाहिर निकालेर लोकतान्त्रिक युगतर्फ प्रवेश गराएको छ,' उनले भने ।
प्रधानमन्त्री ओलीले विभिन्न प्रकारका हल्लाहरू चल्न सक्ने भए पनि नेपाली जनताले निरन्तर संघर्ष गर्दै आएको बताए ।
उनले भने, 'राम्रोका लागि गरिएको संघर्षमा कहिलेकाहीँ आशंकाका भरमा यातना सहनुपरेको छ, कसैले ज्यान गुमाउनुपरेको छ । तर, ती सबै संघर्ष, बलिदान, प्रेरणा, हिम्मत र मनोबलकै कारण आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको अवस्थामा छौं ।'
नेपालमा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ
२००७ सालमा राणा शासनको अन्त्य भई प्रजातान्त्रिक व्यवस्था स्थापना भएको ऐतिहासिक दिनका रूपमा यस दिवसलाई लिइन्छ ।