
उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्र निर्माणको प्रक्रियामा सबैको सहभागिता जरुरी भएको बताएका छन् । ‘मनास्लु वर्ल्ड स्कूल’ले आज आयोजना गरेको कार्यक्रममा उनले कुनै पनि विकसित देश एकै दिनमा नबनेको बताए ।
अहिलेका विकसित देशहरू बन्न पनि वर्षौं लागेको उल्लेख गर्दै मन्त्री सिंहले समृद्ध नेपाल बनाउने अभियान अघि बढिरहेकाले चाहेजस्तो देश बनाउन केही समय लाग्ने र त्यसमा सबै नेपालीको भूमिका महत्त्वपूर्ण हुने बताए ।
अहिले व्यवस्था परिवर्तन भयो तर अवस्था फेरिएन भनेर गलत भाष्य बनाइएको उल्लेख गर्दै प्रजातन्त्र प्राप्तिपछि सबै क्षेत्रमा ठूलो परिवर्तन भएको उनको भनाइ थियो ।
उपप्रधानमन्त्री सिंहले देशमै गुणस्तरीय शिक्षा पाउने अवस्था बनेकाले देशभित्रै अवसर खोज्न युवाहरूलाई आग्रह गरे ।
कडा मेहनत र परिश्रमबिना लक्ष्य प्राप्ति गर्न असम्भव रहेकाले विद्यार्थीहरूले अध्ययनमा लगनशील हुनुपर्ने सुझाव दिए । देशमै अवसर भएकाले त्यसको सदुपयोग गर्ने सोच विकास गर्न आवश्यक रहेको उनले बताए ।
'गुणस्तरीय शिक्षा मात्र सबैथोक होइन । सम्पूर्ण व्यक्तित्व विकासमा ध्यान दिनुस् । क्षमता भएर मात्रै हुँदैन । कडा मेहनत र अनुशासन चाहिन्छ,' उपप्रधानमन्त्री सिंहले भने ।