
भारत उडिशाको केआईआईटी विश्वविद्यालयमा एक नेपाली छात्राको मृत्युपछि उत्पन्न तनावमा धेरै नेपाली विद्यार्थी त्यहाँबाट बाहिरिएका छन् ।
सोमबारभित्र क्याम्पस छाडिसक्न नेपाली विद्यार्थीलाई चेतावनी दिएको प्रचारकाबीच विश्वविद्यालयले भने क्याम्पस फर्किन र कक्षा शुरू गर्न अपिल गरेको छ ।
विश्वविद्यालयमा बी टेक तेस्रो वर्षमा अध्ययनरत छात्रा प्रकृति लम्साल आइतबार साँझ छात्रावास परिसरमा मृत भेटिएकी थिइन् । त्यसपछि क्याम्पसका प्रदर्शन र धरपकड भएको थियो । घटनापछि आफूहरूलाई विश्वविद्यालयले क्याम्पस छाड्न चेतावनी दिएको नेपाली विद्यार्थीहरूले बताएका थिए ।
‘केआईआईटी प्रशासनले क्याम्पस र छात्रावासहरूमा शान्ति पुनर्स्थापना गर्दै शैक्षिक गतिविधिहरू पुनः सञ्चालन गर्नका लागि हरसम्भव प्रयास गरिरहेको छ’, विश्वविद्यालयले जारी गरेको अपीलमा भनिएको छ, ‘क्याम्पस छोडिसकेका वा छोड्ने योजनामा रहेका हाम्रा सबै नेपाली विद्यार्थीहरूलाई क्याम्पस फर्केर कक्षा पुनः शुरू गर्न आग्रह गरिन्छ ।’

घटनापछि तुरुन्तै प्रहरीले अनुसन्धान गर्दै आरोपितलाई पक्राउ गरिसकेको छ कलेज प्रशासनले जनाएको छ।
प्रकृतिको मृत्युपछि क्याम्पसमा रहेका नेपाली विद्यार्थीहरूले घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै प्रदर्शन गरेका थिए । उनीहरूले सडक अवरुद्ध गर्दै मृतकका पूर्वप्रेमीलाई पक्राउ गर्न समेत माग गरेका थिए । उनकै कारण प्रकृतिले आत्महत्या गरेको उनीहरूको आरोप छ ।
सोमबार प्रहरीले लम्सालका पूर्वप्रेमी भनिएका अद्विक श्रीवास्तवलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
श्रीवास्तवको मानसिक तनाव र दुर्व्यवहारबाट प्रकृति विक्षिप्त बनेकी उनका सहपाठीहरूको दाबी छ।