
काठमाडौँ महानगरपालिकाले छात्राबासहरू (होस्टल)लाई तोकिएको मापदण्डअनुरुप सञ्चालन गराउन सूचकका आधारमा अनुगमन गरिने जनाएको छ । कामपाका उपप्रमुख सुनिता डङ्गोलले छात्राबास व्यवस्थापनका लागि अनुगमन गरिने बताएकी हुन् ।
छात्राबासलाई व्यवस्थित बनाउन जारी गरिएको ‘छात्राबास सञ्चालनसम्बन्धी मापदण्ड २०८०’ ले तोकेका व्यवस्था कार्यान्वयनमा ल्याउन कामपा शिक्षा विभागले अनुगमन गर्ने उनले बताइन् ।
मापदण्डले कामपाभित्र छात्राबास सञ्चालन गर्न कार्ययोजना, प्रतिबद्धतासहितको निवेदन, वडाको सिफारिस, छात्राबास राख्ने भवनको नक्सा र नक्सापास प्रमाणपत्र, निर्माण सम्पन्न प्रमाणपत्रसहित कागजातसहित दर्ता गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।
छात्राबासभित्र हुनुपर्ने न्युनतम पूर्वाधारअन्तर्गत शौचालय, भान्छा घर, पानीको आपूर्ति, विद्युत्, प्रत्येक छात्रछात्राका लागि पलङ, दराज र टेबल फोहरमैला व्यवस्थापन तथा सरसफाइको प्रबन्ध गरिनुपर्ने भनिएको छ । कोठाहरू फराकिला, खुल्ला हुनुपर्ने र पर्याप्त प्रकाश छिर्ने, हावा दोहोरो चल्ने हुनुपर्नेलगायत उल्लेख छ ।