०३ साउन २०८३, आइतबार
मल वितरण निर्देशिका संशोधन गरिँदै

खेतीयोग्य क्षेत्रअनुसार मलको कोटा निर्धारण गरिने, किसानलाई सहज आपूर्ति हुने अपेक्षा

फागुन ६, २०८१
काठमाडौं
खेतीयोग्य क्षेत्रअनुसार मलको कोटा निर्धारण गरिने, किसानलाई सहज आपूर्ति हुने अपेक्षा
सहकारीमा मल लिन आएका कृषक । फाइल तस्बिरः रासस

किसानले भोगिरहेको मलको समस्या समाधान गर्न ‘अनुदान मल वितरण व्यवस्थापन निर्देशिका २०७७’ संशोधनको गर्न लागिएको छ । कृषि, पशुपन्छी विकास मन्त्रालयले मल वितरणको समस्या हटाउन निर्देशिका संशोधन गर्न लागिएको हो ।

संशोधित निर्देशिका अन्तिम चरणमा रहेको मन्त्रालयकी प्रवक्ता डा. मतिना जोशी वैद्यले जानकारी दिइन् । किसानले भोगिरहेको समस्यालाई यसले सम्बोधन गर्ने उनको भनाइ छ । 

‘विशेषगरी रासायनिक मलको वितरण समस्या भइरहेको थियो । जसको कारण हाम्रो निर्देशिका भएका केही व्यवस्थाहरू हुन्’, उनले भनिन्, ‘जसलाई हामीले संशोधन गरेका छौँ । सम्भवत: यसले मल वितरणलाई व्यवस्थित बनाउनेछ ।’ 

विशेषगरी निर्देशिकाको दफा ११ र दफा २१ को उपदफा ४ मा रहेका वितरणसम्बन्धी व्यवस्थालाई संशोधन गरिएको छ । यसका साथै निर्देशिका कार्यान्वयन देखिएका समस्यालाई सम्बोधन गरिएको मन्त्रालयले जनाएको छ ।  

निर्देशिकाको विषयवस्तु तयार भइसकेको र खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन २०७५ अनुसारको ढाँचामा राख्ने काम भइरहेको मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले बताए । 

‘यहाँबाट अर्थ मन्त्रालयमा सहमतिका लागि पठाएका थियौं । अर्थबाट केही संशोधनमा सहमति आयो, केहीमा राय सुझाव आयो भने केहीमा परिमार्जन गर्नुपर्छ भन्ने आयो’, उनले भने, ‘मन्त्रालयले सोहीअनुसार पुनः छलफल गरेर संशोधन तयार गरिसकेको छ । अर्थ मन्त्रालय पठाउने तयारी छ ।’

मल सहकारीद्वारा वितरण गरिएको युरिया मल लिन लाइनबद्ध किसान। फाइल तस्वीर तस्बिरः रासस

गत माघ २१ गते मन्त्रिपरिषद्को बैठकले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ संशोधन गर्दै सम्बन्धित मन्त्रालयलाई नै नियम, विनियम, आदेश, निर्देशिका, कार्यविधि, मापदण्डसम्बन्धी निर्णय गर्ने व्यवस्था गरेको थियो । जसअनुसार कृषि मन्त्रालयले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को प्रावधान नराखी निर्देशिका बनाउन लागेको छ । 

खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन २०७५ मा टेकेर निर्देशिका बनाउन सक्ने व्यवस्था छ । मन्त्रालयले पनि यसै ऐनमा टेकेर निर्देशिका बनाउन लागेको जनाएको छ । 

‘केही नेपाल ऐन संशोधनमार्फत् सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ मा निर्देशिका बनाउने प्रावधान हेरफेर भएको छ । जसअनुसार मन्त्रालयबाटै निर्देशिका बनाउन सकिन्छ । खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन २०७५ मा टेकेर निर्देशिका बनाउन लागेका छौँ ।’

व्यवस्थित बन्दै रासायनिक मलको वितरण
हालसम्म सहकारीलाई मलको कोटा निर्धारण गरेको छ । चौमासिक अर्थात् १२० दिनसम्म सोही सहकारीले मल उठाउनुपर्ने व्यवस्था छ । अर्थात् यस व्यवस्थाले कोटा तोकेअनुसार डिपोमा मल भए पनि १२० दिनसम्म तोकेकै सहकारीले मात्रै लैजान मिल्छ । तोकेकै सहकारीले १२० दिनसम्म उक्त मल नउठाएमा मात्रै अर्कोलाई दिन मिल्छ । 

यस व्यवस्थाले डिपोमा मल हुँदा पनि किसानले नपाउने र ढिलो मल पाउने समस्या भोगिरहेका थिए । यस व्यवस्थालाई संशोधन गरेर १६ दिनभित्र तोकेको सहकारीले मल उठाइसक्नुपर्ने बनाइएको छ । 

अब तोकेको सहकारीले १५ दिनभित्र मल नउठाएमा अर्को सहकारीलाई उक्त मल दिन मिल्ने छ । यसले गर्दा किसानले समयमै मल पाउने र डिपोमा लामो समयसम्म मल राखिने छैन । 

अनुगमनका लागि पनि हरेक जिल्लामा एउटा संयन्त्र राख्ने व्यवस्था गरिन लागेको छ । यस व्यवस्थाले हरेक जिल्लामा हुने कालोबजारीलाई रोक्नुका साथै आपूर्तिलाई पनि मिलाउनेछ । 

मलको कोटा तोक्न लिइने आधारमा पनि परिमार्जन गरिएको छ । अबदेखि जहाँ बढी खेती हुन्छ, जहाँ बढी बाली हुन्छ, जहाँ सिचाईं सुविधा छ, जहाँ खपत बढी हुन्छ त्यहाँ बढी मल पुग्ने गरी कोटा निर्धारण गरिनेछ । 

व्यवसायी बाली, सिचाईं सुविधा, खेती योग्य जमिन र बाली सरलताका आधारमा मलको कोटा तोकिने व्यवस्था गरिएको छ । खेतीको संख्या अर्थात् कति पटक खेती गरिन्छ त्यसलाई हेरिनेछ । अर्को व्यवसायी बाली कति लगाइन्छ ? त्यसलाई पनि कोटा निर्धारण गर्नका लागि आधारका रूपमा लिइनेछ । 

यसका साथै प्रदेशलाई पनि आफ्नो आवश्यकताअनुसार मल परिचालन गर्न सक्ने अधिकार प्रदान गरिएको छ । यस व्यवस्थाबाट प्रदेशले आफ्ना स्थानीय तहमा उत्पादन हुने बाली, खेतीयोग्य जमिन र आवश्यकताअनुसार मलको परिचालन गर्न सक्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्