
सङ्खुवासभाको सभापोखरी गाउँपालिका–६ बाह्रबिसे बजारका अग्निपीडितलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटीले रु १२ लाख १८ हजार पाँच सय सहयोग गरेको छ ।
गत माघ २ गते सभापोखरी–६ बाह्रबिसे बजारमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका थिए ।
अग्निपीडितलाई आर्थिक सहयोग सङ्कलन गरी हस्तान्तर गरिएको एमालेका जिल्ला अध्यक्ष खड्गबहादुर राईले जानकारी दिए ।
एमाले सभापोखरी गाउँ कमिटीका उपाध्यक्ष तिलक लिम्बूको संयोजकत्वमा सहयोग रकम संकलन गरिएको थियो ।
पीडितका लागि एमाले सभापोखरी गाउँ कमिटीबाट रु सात लाख ३९ हजार आठ सय ८१, राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी रु दुई लाख ५३ हजार चार सय ४८, अखिल नेपाल महिला संघ सभापोखरीबाट रु छ हजार सात सय ५० सङ्कलन गरिएको अध्यक्ष राईले बताए ।
आगलागीबाट रु एक करोड ५० लाख बढीको क्षति भएको थियो ।
आगलागीले बाह्रबिसेका लालसिंह लिम्बू, रामबहादुर राई, अनिता राई र सुशील तामाङको घर जलेर नष्ट भएको थियो ।