१० साउन २०८३, आइतबार

भारतमा नेपाली विद्यार्थीमाथि भएको अमर्यादित व्यवहारप्रति सांसदहरूको आपत्ति

फागुन ६, २०८१
काठमाडौं
भारतमा नेपाली विद्यार्थीमाथि भएको अमर्यादित व्यवहारप्रति सांसदहरूको आपत्ति

सांसदहरूले भारतको उडिसामा नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्यु भएपछि नेपाली विद्यार्थीमाथि अमानवीय व्यवहार भएको भन्दै आपत्ति जनाएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसदहरूले अभद्र व्यवहारको भर्त्सना गर्दै घटनाको सत्य-तथ्य छानबिनका लागि सरकारसँग माग गरेका हुन् । 

‘भारतमा नेपाली विद्यार्थीको रहस्यमय मृत्यु भएपछि सिंगो नेपाल तरंगित भएको छ । यस विषयमा, गृहमन्त्रीले सरकारले गरेका कामबारे जानकारी गराउनुभयो । मृतकको मृत्युपछि छानबिन एउटा विषय हो,’ एमाले सांसद ठाकुर गैरेले भने, ‘तर अहिलेसम्म आएका भिडियो र सन्दर्भले हिजोदेखि विद्यार्थीमाथि भएको अभद्र व्यवहार र प्रशासनकद्वारा नेपाली विद्यार्थीमाथि गरिएको अभद्र व्यवहार भाषा, शब्दावली सुन्दा लज्जा बोध हुन्छ । नेपाल र नेपालीप्रति भारतीय व्यक्तिबाट भएको शब्द, व्यवहारप्रति दुःख व्यक्त गर्छु ।’

न्यूनतम् व्यवहारसमेत नभएको भन्दै उनले नेपाल र नेपालीका लागि सह्य नहुने बताए ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले भारतमा चौकीदारले नेपाली  विद्यार्थी पिट्न पाएको भन्दै सरकारले अग्रसरता नलिएको भन्दै प्रश्न उठाए । 

‘छिमेकमा कलेजको चौकीदारले हाम्रो विद्यार्थीलाई सजिलै पिट्न पाए । कलेजको चौकीदारले तिमीहरूको  देशको बजेट हाम्रो कलेज जति पनि छैन भनेर हेप्न पाए,’ झाले भने, ‘दुई तिहाइको दम्भ यता छ, तर देशबाहिर कही छैन । आत्मसम्मान, सुरक्षा छिमेकमा छैन । दुईतिहाइको सरकारले के गर्दैछ । २२ लाख नेपाली भारतमा पेशा र रोजगारीको लागि हुनुहुन्छ । २० हजार बढी विद्यार्थी युनिभर्सिटीमा हुनुहुन्छ ।’

यसैले कूटनीतिक तहको संरचना नै बदल्नुपर्ने उनको भनाइ छ । दूतावासका १६ जना कर्मचारीले सबैतिर हेर्न नसकेको उनले बताए ।

बैठकमा नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले भारतको उडिसामा नेपाली विद्यार्थीको शङ्कास्पद मृत्युपछि सरकारले कूटनीतिक अक्षमता देखाएको आरोप लगाए । सापकोटाले लम्सालको मृत्युपछि विद्यार्थीले दुःख पाउँदा पनि सरकारले कूटनीतिक सक्षमता नदेखाएको आरोप लगाएका हुन् । 

‘भारतको उडिसामा नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्यु भयो । अमानवीय व्यवहार नेपालीमाथि धावा बोलियो,’ सापकोटाले भने, ‘तर घटनापछि सरकारले कूटनीतिक सक्षमता देखाएन । त्यसकारण पनि अरु विद्यार्थीले सास्ती भोग्नुपरेको छ ।’

सापकोटाले माओवादी पार्टीको तर्फबाट घटनाको भर्त्सना गरेको उनले बताए । यसतर्फ सरकारको ध्यानाकर्षण गराउँदै उनले मृतक परिवारलाई न्याय दिन माग गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्