
प्रतिनिधिसभाबाट विद्युतीय व्यापार (ईकमर्श) विधेयक सर्वसम्मततिले पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैकठमा विद्युतीय व्यापार विधेयकलाई केही संशोधनसहित सर्वसम्मतिले पारित भएको हो ।
यो विधेयक २०८० असार १२ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले राष्ट्रियसभामा दर्ता गरेका थिए ।
राष्ट्रियसभाबाट यो विधेयक २०८० कात्तिकमै पास भएको थियो । राष्ट्रियसभाबाट पास भएर आएको विधेयक लामो समयपछि प्रतिनिधिसभाले मंगलबार सर्वसम्मतिले पारित गरेको हो ।
ईकमर्शबाट हुने व्यापारको नियमन तथा व्यवस्थित गर्ने ऐन आवश्यक भएकोले विधेयक अगाडि बढाइएको हो ।
अब विधेयक पुनः राष्ट्रियसभामा जानेछ । राष्ट्रियसभाले पुनः स्वीकारेपछि प्रमाणिकरणको लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पुग्नेछ ।
मंगलबारको बैठकमा विधेयकका विभिन्न पक्षका बारेमा सांसदहरूले सरकारको धारणा मागेका थिए । सांसदहरूको जिज्ञासाको जवाफमा उद्योगमन्त्री दामोदर भण्डारीले नेपालमा विद्युतीय व्यापारको माध्यमबाट वस्तु तथा सेवाको खरिदबिक्री बढ्दो क्रममा रहेकाले विद्युतीय माध्यामबाट हुने कारोबारलाई निमयन तथा व्यवस्थित गर्न यो विधेयक ल्याएको बताए ।
मुलुकमा रोजगारी सिर्जना, वस्तु तथा सेवाको सहज आपूर्ति, निर्यात प्रवर्द्धनलगायत क्षेत्रमा विद्युतीय व्यापार अति आवश्यक भइसकेकाले यसलाई नियमन तथा अनुगमनका लागि तत्काल कानुन बन्न आवश्यक रहेको मन्त्री भण्डारीले बताए ।
कार्यान्वयनका चरणमा लैजाँदा नियमावली तथा कार्यविधि बनाएर थप व्याख्या गरिने उनको भनाइ छ । अहिलेको प्रविधिको विकाससँगै यसलाई संशोधन गर्दै जान सकिने उद्योगमन्त्री भण्डारीले उल्लेख गरे ।