
आफूहरुले अघि सारेको माग पूरा नभएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ ।
संघले आफूहरुको माग पुरा गर्नका लागि सरकारलाई ४८ घन्टाको समय दिएको तर तोकिएको समयमा पनि पूरा नभएपछि आन्दोलनमा जान बाध्य भएको विज्ञप्तिमार्फत जनाएको छ ।
महासचिव डा सञ्जीव तिवारीका अनुसार बुधबार र बिहीबार देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आ–आफ्नो स्वास्थ्य संस्था अगाडि कालो पट्टि बाधी कार्यालय समयको पहिलो १ घण्टा धर्ना दिने तय भएको छ ।
यी बिरोधका कार्यक्रमहरु संचालन गर्दा समेत सरकारले निकासका लागि सम्बोधन नगरेमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने कार्यक्रम गर्न बाध्य हुने संघले जनाएको छ ।
संघले आवासीय चिकित्सक (एमडी/एमएस/एमडीएस) हरूको निर्वाह भत्तालाई नेपाल सरकारको आठौं तह सरह उपलब्ध गराउनुपर्ने, स्वास्थ्य सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको थप दरबन्दी अविलम्ब सिर्जना गरी यथाशीघ्र विज्ञापन गरिनुपर्ने, अस्पताल विकास समिति अन्तर्गत कार्यरत सम्पूर्ण चिकित्सकहरूलाई स्थाई नियुक्ति प्रदान गरिनुपर्ने लगायतका ९ बुँदे माग अघि सारेको छ ।