२१ असार २०८३, आइतबार

जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत : राष्ट्रपति पौडेल

फागुन ७, २०८१
काठमाडौं
जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन् । 

राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज शुभकामना दिँदै उनले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको बताए । 

'मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अङ्कित छ,' राष्ट्रपति पौडेलले शुभकामनामा भनेका छन्, 'सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामी नेपालीले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि हो । विसं २००७ को क्रान्तिको जगमा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएका हौँ ।'

राष्ट्रपति पौडेलले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गरेका छन् । उनले भनेका छन्, 'लोकतान्त्रिक निर्वाचनका माध्यमबाट जनप्रतिनिधि छनोट भई अहिले संविधानतः तीनै तहका सरकारहरू बनेका छन् । यी निश्चिय नै हाम्रा लागि धेरै ठूला र ऐतिहासिक उपलब्धि हुन् । यिनै उपलब्धिको जगमा हाम्रो भविष्यको सुखद् यात्रा प्रारम्भ भएको छ भन्ने मैले विश्वास लिएको छु ।'

राष्ट्रपतिले सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवं मान्यता कार्यान्वयन गर्न प्रेरणा मिल्ने अपेक्षा गरेका छन् । 

विसं २००७ को क्रान्ति सफल भएर निरङ्कुशताविरूद्धको बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप मानवअधिकार तथा राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरूप प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदैछ ।
 

salt training

कमेन्ट गर्नुहोस्