
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु वर्तमानको कार्यभार भएको बताएका छन्।
७५औँ प्रजातन्त्र दिवसका अवसरमा उनले लोकतन्त्रको रक्षा गर्नु हामी सबैको साझा दायित्व भएको स्मरण गराएका छन् । अध्यक्ष नेपालद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, 'मुलुकमा रहेको निरङ्कुश, जहानियाँ र तानाशाही व्यवस्थाबाट देशलाई मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यस अवसरमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो ज्यानको बलिदानी दिने सम्पूर्ण सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।'
मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ र राज्यशक्तिको स्रोत जनता मात्र हुन् भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा वीर वीराङ्गना सहिदको बलिदानबाट स्थापित गरेको उनले स्मरण गरे ।