१२ साउन २०८३, मंगलबार
कांग्रेस सभापतिको भ्रमण रद्द

उच्चस्तरीय भेटवार्ताको सुनिश्चितता नभएपछि देउवाले स्थगित गरे भारत भ्रमण

फागुन ८, २०८१
काठमाडौं
उच्चस्तरीय भेटवार्ताको सुनिश्चितता नभएपछि देउवाले स्थगित गरे भारत भ्रमण

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारदेखि गर्ने भनिएको भारत भ्रमण अन्तिम समयमा आएर स्थगित भएको छ । 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापतिले भारत भ्रमण गर्ने कार्यक्रम अन्तिम समयमा स्थगित भएको जानकारी दिए । 

देउवा प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा दर्शन गरेर उत्तर प्रदेशमा आयोजित एक औपचारिक कार्यक्रममा सहभागी हुने तय भएको थियो । भ्रमण किन स्थगित भएको भन्नेबारे पौडेलले खुलाउन चाहेनन् । 

स्रोतका अनुसार दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटवार्ताको सम्भावना नरहेपछि देउवाले भारत भ्रमण स्थगित गरेका हुन् । शुरूमा २ दिनको भ्रमण भनिए पनि प्रयागराजको कार्यक्रम सकिएपछि देउवा उतैबाट दिल्ली जाने तयारी थियो । 

स्रोतका अनुसार देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री डा. एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई भेट्न इच्छा व्यक्त गरेका थिए ।

व्यस्त शेड्युल देखाएर तीनैजनाले देउवालाई भेट्न इन्कार गरेको स्रोतको दाबी छ । 

दिल्लीमा उच्चस्तरीय भेटवार्ताको सम्भावना नरहेपछि देउवाले भ्रमण स्थगित गरेको स्रोतले बतायो । 

दुई महिनाअगाडि परराष्ट्र मन्त्री डा. आरजू राणा देउवाले नयाँ दिल्ली भ्रमणका बेला अथक प्रयास गरे पनि उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्न पाएकी थिइनन् । 

२०८१ असार ३१ गते कांग्रेस र एमाले मिलेर केपी  ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि दुई देशका सरकारबीचको सम्बन्ध सौहार्द बन्न सकेको छैन । 

सरकार गठनको ७ महिना बितिसक्दा दुई देशबाट उच्चस्तरीय राजनीतिक भ्रमण भएको छैन । 

प्रधानमन्त्री ओलीले मंसिर १७ गतेदेखि चीन भ्रमण गरेर बीआरआईसम्बन्धी केही सम्झौता गरेका थिए । 

चीनबाट फर्किने क्रममा विमानस्थलमै ओलीले छिट्टै भारत भ्रमण हुने बताएका थिए । तर, भारतले अहिलेसम्म प्रधानमन्त्रीलाई भ्रमणको निम्ता दिएको छैन । 

भारतसँगको सम्बन्ध सुधारका लागि सत्ता गठबन्धनका नेताहरूले कोशिश गरिरहेका छन् । 

यही पृष्ठभूमिमा ‘वेटिङ प्राइमिनिस्टर’ देउवाले तीर्थाटनका साथसाथै नयाँ दिल्लीमा भेटवार्ता गर्ने चाहना राखेका थिए । यसका लागि कांग्रेसका नेताहरूले पहल गरेका थिए । 

भारतीय संस्थापनले देउवासँग भेटका लागि ‘ग्रीन सिग्नल’ नदिएपछि भ्रमण स्थगित हुन पुगेको हो । 

इन्डिया फाउन्डेसनले आयोजना गरेको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एन्ड सस्टेनेबिलिटी’ कार्यक्रममा देउवालाई नेपालका पूर्व प्रधानमन्त्रीको हैसियतमा वक्ताका रूपमा आमन्त्रण गरिएको थियो । 

पढ्नुहोस्, यो पनि :

‘बाध्यताले बीआरआईमा हस्ताक्षर भयो, कांग्रेस नमानेको भए एमाले–माओवादी मिल्थे’
 

salt training

कमेन्ट गर्नुहोस्