२४ जेठ २०८३, आइतबार

डा. पोखरेलको कवितासंग्रह ‘विलोल शब्द वल्लरी’ र तीन गीतका भिडियो लोकार्पण

फागुन ८, २०८१
काठमाडौं
डा. पोखरेलको कवितासंग्रह ‘विलोल शब्द वल्लरी’ र तीन गीतका भिडियो लोकार्पण

स्रष्टा डा. विलोल पोखरेलको कवितासंग्रह ‘विलोल शब्द वल्लरी’ र तीन गीतका भिडियो लोकार्पण गरिएको छ । बुधबार काठमाडौंमा मिलाप मासिकको आयोजनामा कृतिहरूको लोकार्पण गरिएको हो । 

स्रष्टा विलोलकी माताश्री धरणी पोखरेलको प्रमुख आतिथ्यतामा भएको समारोहमा वरिष्ठ कलाकार कृष्ण मल्ल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, वरिष्ठ कलाकार लय संग्रौला, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्वअध्यक्ष राधेश्याम लेकाली, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, स्रष्टा पोखरेल र मिलापका सम्पादक कृष्ण भुसालले कृतिको लोकार्पण गरेका थिए । 

कृतिको लोकार्पणसँगै डा. विलोलका शब्द रचना रहेका ‘शहीदको रगतले होली खेल्न दिन्न’, ‘यो देशको माटोले तिमीलाई बोलाई राखेको छ’ दुई राष्ट्रिय भावका गीत र एक आधुनिक गीत ‘चिरा चिरा भो मुटु’को भिडियो प्रदर्शन गरिएको थियो । 

गीतकार एवं निर्देशक गणेश सुवेदीले सहजीकरण गरेको उक्त कार्यक्रममा सञ्चारकर्मी स्वस्तिका पन्थीले स्वागत मन्तव्य राखेका थिए भने शोभना पौडेलले कविता वाचन गरेकी थिइन् ।

कार्यक्रममा आफ्ना भनाइ राख्दै स्रष्टा विलोलले विदेशमा वस्ता पनि देशमा रहे पनि मन सधैं स्वदेशमै रहने गरेको बताउँदै गीत, संगीत, गायन, अभिनयमा आफ्नो रुची रहेकोले सिर्जना आइरहेको बताए । लेख्दा लेख्दै थुप्रै कविता लेखेको सुनाउँदै ती सबैलाई क्रमशः पाठकमाझ ल्याउने उद्देश्यले ‘विलोल शब्द वल्लरी’ भाग-१ सार्वजनिक गरिएको जानकारी दिए । 

अन्य कृति पनि क्रमशः आउँदै जाने उनले बताए । भाव, अनुभव र कथाहरू आफ्नै भाषामा व्यक्त गर्ने चेष्टा गरेको उनले सुनाए । ‘यो भान्सेले मीठा व्यन्जन पस्कन सकेन होला । तर, पनि मीठो मानेर अलिकति भुटेको करेलो मैले पस्कें, घ्यू, चास्नी, कुराउनी, सखर थपेर मिठो बनाउने जिम्मा यहाँहरूको’, उनले भने ।

शुभकामना मन्तव्य राख्दै वरिष्ठ कवि महेश प्रसाईंले विलोल आफ्नो बाल्यकालदेखिको साथी रहेको बताउँदै उनका कवितामा नेपाली माटोको सुगन्ध रहेको जिकिर गरे। यस्तै गीतकार संघका अध्यक्ष वसन्त थापाले गीतकार व्यक्तित्व डा. विलोलको सक्रिय गीत लेखनको प्रशंसा गर्दै संघमा जोडिन आग्रह गरे । 

null

वरिष्ठ कलाकार लय संग्रौलाले डा. विलोल र आफ्नो सम्बन्ध र सहकार्यको चर्चा गर्दै वर्तमान राजनीतिले निराशा बनाएको चर्चा गरे । उनले डा. विलोलका सिर्जनाले आशाको सञ्चार गरेको जिकिर गरे ।

अनेसासका पूर्वअध्यक्ष राधेश्याम लेकालीले आफू अध्यक्ष हुँदा डा. विलोलसँग केही कार्यक्रममा सहकार्य गरेको चर्चा गर्दै उनका रचनामा राष्ट्रप्रेमसँगै समाज र माया प्रेमको अभिव्यक्ति रहेको बताए । लेकालीले ‘विलाल शब्द वल्लरी’मा रहेको एक कविता पनि वाचन गरेका थिए ।

कार्यक्रममा वरिष्ठ कलाकार कृष्ण मल्लले डा. विलोल आफ्नो अत्यन्त पुरानो अभिन्न मित्र, सुख दुःखको साथी रहेको भन्दै उनी नेपालमा रहँदा पनि विभिन्न सामाजिक कृयाकलापमा सक्रिय रहेको चर्चा गरे । कलासंस्कृति, साहित्य, चलचित्र र धार्मिक कुरालाई आत्मसाथ गर्दै हिँड्ने डा. पोखरेल विसं. २०४१ सालमा कलाकारहरूले स्थापना गरेको सामाजिक संस्था ‘अभियान’मा महासचिव रहेर उनले गरेका कार्यको चर्चा गरे । त्यस्तै डा. विलोले प्रशिद्ध टेलिफिल्म ‘टाढाको बस्ती’ तथा ‘चक्रव्युह’मा प्रमुख भूमिका निर्वाह गरेको उहाँले जानकारी गराए ।

कार्यक्रमकी प्रमुख अतिथि स्रष्टाकी माता धरणी पोखरेलले आफूले शिक्षण पेशमा रहँदाका अनुभव सुनाउँदै कुनै पनि सन्ततिका सकुर्मले अभिभावकलाई सुखानुभूति हुने बताइन् ।

कार्यक्रमको समापन गर्दै मिलापका सम्पादक कृष्ण भुसलाले साहित्यिक व्यक्तित्व डा. विलोलका सिर्जनाको चर्चा गर्दै मिलापले गरेका गतिविधिबारे बताएका थिए । विगत १५ वर्षदेखि निरन्तर मिलाप प्रकाशन गर्दै आएको बताउँदै उनले विभिन्न व्यक्तित्वहरूको साथ सहयोगको यसलाई अन्तर्राष्ट्रिय म्यागजिन बनाउन सफल भएको उनले दाबी गरे ।

सो अवसरमा डा. विलोलका गीतका भिडियोमा संलग्नका साथै अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा साहित्य, गीत, संगीतका साथै विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो । कविता संग्रह ‘विलोल शब्द वल्लरी’मा ९२ कविता संग्रहित छन् । १४८ पेजको यो कृतिलाई जेनीश इन्टरटेन्मेन्ट मिडिया प्रालिले प्रकाशन गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्