
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं महानगरपालिकाको नेतृत्वमा प्रशंसायोग्य काम भइरहेको बताएका छन् ।
बिहीबार नित्यनाथ सत्तल पुनर्निर्माणको शिलान्यास गर्दै थापाले सम्पदा संरक्षणमा काठमाडौं महानगरले गरेको कामको प्रशंसा गरे । ‘जनसरोकारका काममा यसअघि संघ र प्रदेश सरकारसँग बजेट माग्नुपर्थ्यो, अहिले काठमाडौं महानगरले बजेटको अभाव महसुस हुन दिएको छैन । यो राम्रो काम हो’, थापाले भने ।
कामनपा–८, नवाली टोलमा रहेको १९औं शताब्दीमा निर्मित सत्तल पुनर्निर्माणको महामन्त्री थापासहित, वडाध्यक्ष आशामान सङ्गत, सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र वडा सदस्यहरूले एकै पटक पाँच ठाउँमा जग राखेर शिलान्यास गरे । सत्तल पुनर्निर्माणका लागि करबाहेक दुई करोड २७ लाख रकममा निर्माण पक्षसँग सम्झौता भएको छ ।
तीनतले सत्तलको पहिलो तलामा पुस्तकालय हुनेछ । दोस्रो तलालाई सामाजिक कार्य तथा भोजका लागि उपयोगमा ल्याइने महानगरले जनाएको छ । तेस्रो तला अर्थात् बुइँगलमा नित्यनाथको मन्दिरस्थल रहनेछ । परम्परागत वादन तथा गायनजस्ता विषयमा शिक्षा लिन पहिले नित्यनाथको पूजा गर्नुपर्ने प्रचलन छ । यसरी गरिने पूजामध्ये आज गरिएको पूजालाई विशेष रूपमा मानिन्छ ।
१९९० सालको भूकम्पले जीर्ण अवस्थामा रहेको सत्तल २०३९ सालमा सुवर्ण वैद्य वडाध्यक्ष भएका बेला ढलान गरेर पुनर्निर्माण गरिएको थियो । त्यसमा तला थप गरेर सन्ध्या पुस्तकालय सञ्चालन गरिएको थियो । वडाध्यक्ष सङ्गतले भने, ‘सांस्कृतिक शहरको पहिचान कायम गराउन परम्परागत शैलीमा सत्तलको पुनर्निर्माण गर्न लागिएको हो ।’