११ साउन २०८३, सोमबार

संविधानलाई असफल पार्ने छुट कसैलाई छैन : गृहमन्त्री लेखक

फागुन ८, २०८१
भक्तपुर
संविधानलाई असफल पार्ने छुट कसैलाई छैन : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले वर्तमान संविधानलाई असफल पार्ने छुट कसैलाई नभएको बताएका छन् । बिहीबार भक्तपुरको बोडेमा नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौं राष्ट्रिय परिषद्को उद्घाटन गर्दै उनले विगतका संविधान असफल भए पनि यो संविधानलाई असफल पार्ने छुट कसैलाई नभएको बताएका हुन् । 

‘हाम्रो देशमा ७० वर्षको अन्तरालमा सात वटा संविधान जारी भए । यसअघिका छ वटा संविधान असफल हुँदा त्यो समयमा देश कति राजनीतिक अस्थिरतामा गुज्रिएछ भन्ने प्रमाण पनि हो । राजनीतिक स्थिरताका लागि पनि संविधान असफल पार्न हुँदैन’, उनले भने । 

संविधान चलायमान र जीवन्त दस्तावेज भएको चर्चा गर्दै उनले समय र आवश्यकताअनुसार संशोधन गरेर जानुपर्ने बताए । उनले संविधानलाई धार्मिक ग्रन्थका रूपमा लिएर चलाउनै हुँदैन भन्यो भने असफल हुने बताउँदै संविधान संशोधन गर्दा प्रतिगमनमा जान्छ भन्ने ठान्नु नै गलत भएको टिप्पणी गरे । 

नेपाली कांग्रेस र एमालेले मात्रै संविधान संशोधन गर्ने होइन भन्दै उनले दलहरूबीच छलफल र सहमतिमै संविधान संशोधन हुने स्पष्ट पारे ।

‘कांग्रेस–एमालेको सात बुँदे सहमतिमै संविधान संशोधनको एजेण्डामा सहमति भएको थियो । संविधान जारी भएको १० वर्षमा संविधानका सबल र दुर्बल पक्षहरु के–के रहे ? त्यसको पहिचान गर्ने र संविधानको कहाँकहाँ परिमार्जन गर्ने ? त्यसबारे दलहरुबीच बृहत् छलफल गरेर राजनीतिक दलहरुको बीचमा राष्ट्रिय सहमति बनाएर संविधान संशोधन गर्ने हो’, गृहमन्त्री लेखकले भने । 

संविधान संशोधनका लागि कांग्रेस र एमालेबीच कार्यदल बनाउन सहमति भइसकेको भन्दै उनले केही दिनमा कार्यदलमा को–को बस्ने टुङ्गो लगाएर कार्यदलले कार्य थाल्ने जानकारी दिए । 

गृहमन्त्री लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था सुखद् नभएको उल्लेख गर्दै विशेष गरी कोभिडयता मुलुकको अर्थतन्त्रमा ठूलो दबाबमा परेको सुनाए । मुलुकको आर्थिक अवस्थालाई सुधार गरेर आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्न र मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको उद्देश्य पूरा गर्न सरकार लागिरहेको उनको भनाइ छ ।     
 

salt training

कमेन्ट गर्नुहोस्