
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विदेशी अनुदानका कार्यक्रमबारे प्रश्न उठाउँदै आफ्नो देश आफैं बनाउने अभियानमा जुट्न आह्वान गरेका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले विभिन्न अध्ययनहरूले देखाएअनुसार विदेशी अनुदानको झण्डै ७० प्रतिशत हिस्सा सम्बन्धित मुलुकमै फर्किने तथ्य उल्लेख गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत यस्ता अनुदानलाई ‘फ्रड’ भनेको उल्लेख गर्दै पोखरेलले त्यसको नैतिक दायित्व पनि ती मुलुककै हुने बताएका छन् ।
महासचिव पोखरेलले गरिबीमाथिको अपमानबाट जोगिन नेपालले आत्मनिर्भर हुने अभियानमा लाग्नुपर्ने भन्दै ‘हामी बनाउँछौं हाम्रो देश नेपाल’ भन्ने सन्देश प्रवाह गरेका छन्।
'विदेशी अनुदानका कार्यक्रमको झण्डै ७० प्रतिशत हिस्सा सम्बन्धित मुलुकमा फर्कने गरेको तथ्य विभिन्न अध्ययनले देखाएका छन् । त्यस्ता अनुदानलाई अमेरिकी राष्ट्रपतिले फ्रड भनेका हुन् भने त्यसको नैतिक दायित्व पनि ती मुलुककै होला नि !' उनले लेखेका छन् 'गरिबीमाथिको अपमानबाट जोगिन आफ्नो देश आफैं बनाउने अभियानमा जुटौं र भनौं - हामी बनाउँछौं हाम्रो देश नेपाल ।’
तीन दिनअघि अमेरिकाका राष्ट्रपति ट्रम्पले नेपाललाई दिएको अनुदानलाई 'फ्रड' भनेर टिप्पणी गरेका थिए । जसको अहिले नेपालमा व्यापक चर्चा भैरहेको छ ।