२७ जेठ २०८३, बुधबार

हाम्रो पात्रोको अहिलेसम्मकै ठूलो अपडेट सार्वजनिक, के-के छन् नयाँ फिचर ?

फागुन ९, २०८१
काठमाडौं
हाम्रो पात्रोको अहिलेसम्मकै ठूलो अपडेट सार्वजनिक, के-के छन् नयाँ फिचर ?

नेपालको सर्वाधिक लोकप्रिय एप 'हाम्रो पात्रो'ले आफ्नो नयाँ लुक सार्वजनिक गरेको छ । विभिन्न सुविधासहितको नयाँ संस्करणले प्रयोगकर्तालाई अझ सहज, व्यक्तिगत र समृद्ध अनुभव प्रदान गर्ने हाम्रो पात्रोले जनाएको छ । 

नयाँ संस्करणले प्रयोगकर्तालाई आफ्नो दैनिक जीवनलाई व्यवस्थित गर्न, चाडपर्व ट्र्याक गर्न र अन्तरक्रियात्मक सामग्रीमा संलग्न हुन सजिलो बनाउने हाम्रो पात्रोका डायरेक्टर सुदिना गौतमले जानकारी दिइन् । यो हाम्रो पात्रोको अहिलेसम्मकै सबैभन्दा ठूलो रिलिज भएको उनले बताइन् । 

'समयानुसार प्रयोगकर्तालाई नयाँ अपडेट प्रदान गर्ने कुरा हामीले सधैँ ध्यान राखिरहेका हुन्छौं । यो हाम्रो पात्रोको अहिलेसम्मको सबैभन्दा ठूलो रिलिज हो भनेर भन्न सकिन्छ,' उनले भनिन्, 'हाम्रो पात्रोको यो नयाँ स्वरूप र हामीले थपेका नयाँ सुविधाहरू प्रयोगकर्ताहरू माझ पस्कन पाउँदा एकदमै उत्साहित छौं ।'

अपडेटपछि प्रयोगकर्ताले हाम्रो पात्रोको क्यालेन्डरमा आफ्नो गूगल क्यालेन्डर सिन्क्रोनाइज गर्न सक्ने छन् । जसले सबै महत्वपूर्ण मिति र इभेन्टहरूलाई एकै स्थानमा व्यवस्थापन गर्न सजिलो बनाउने उनले बताइन् । 

साथै, कस्टोमाइज हाम्रो सर्भिस फिचर प्रयोग गरेर प्रयोगकर्ताले आफूले प्रयोग गर्ने सेवालाई मात्र प्राथमिकता दिँदै आवश्यकताअनुसार एपलाई व्यक्तिगत बनाउन सक्ने छन् । त्यसबाहेक, प्रयोगकर्ताले आफ्नो सहजताअनुसार एपको फन्ट साइज पनि बदल्न सक्ने उनको भनाइ छ । 

त्यसैगरी, धेरै देशका समय क्षेत्रहरू हेर्न र व्यवस्थापन गर्न सकिने सुविधाले विशेषगरी विदेशमा रहेका नेपालीलाई लाभान्वित गर्नेछ । लामो समयदेखि प्रयोगकर्ताहरूले माग गरिरहेको आइओएस मा नोट्स राख्न र कमेन्ट गर्न सकिने सुविधा पनि अपडेटमा थपिएको छ ।

नयाँ थपिएको सदस्यता सुविधाले प्रयोगकर्तालाई एड फ्री सब्स्क्रिप्सन, गुगल क्यालेन्डर सिन्क्रोनाइज, हाम्रो सेवामा विशेष छुटलगायत विभिन्न लाभहरू सुपथ मूल्यमा खरिद गर्न सक्ने विकल्प पनि प्रदान गरिएको छ । 

नयाँ इभेन्टहरू खोज्ने, प्रश्नोत्तर र मतदानमा सहभागी हुने र एनिमेटेड दैनिक डूडलहरूजस्ता सुविधाले प्रयोगकर्ताको अनुभवलाई थप रमाइलो बनाउने गौतमको भनाइ छ । 

त्यसबाहेक, अब हाम्रो पात्रो एपबाटै इभेन्टहरूको टिकट खरिद गर्न सकिने नयाँ सुविधा उपलब्ध भएको छ। हाम्रो पात्रोको आफ्नै वालेट 'हाम्रो पे'का साथै मोबाइल बैंकिङ र कनेक्ट आइपीएसको प्रयोग गरेर पनि टिकट खरिद गर्न सकिने छ ।

salt training

कमेन्ट गर्नुहोस्